• The Public Today
  • सीमा नाका खोल्ने निर्णयसँगै व्यवसायीहरू उत्साहित


    अजय कुमार झा
    जनकपुरधाम, असोज ६ गते ।
    नेपाल सरकारले नेपाल–भारतको सीमा नाका खुल्ला गर्ने निर्णय गरेपछि जनकपुरधामको व्यापारी तथा पर्यटन व्यवसायीहरू खुसी भएका छन् ।

    भारतीय सीमा खुल्ला भएपछि पर्यटन व्यवसायीहरू जनकपुरधाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने आसा गरेका छन् ।

    कोरोना महामारीका कारणले नेपाल भारतको सीमा नाका विगत दुई वर्षदेखि बन्द हुँदा भारतीय पर्यटकहरू आउन कमी भएको थियो ।

    अहिले कोरोना महामारी कम भएपछि नेपाल सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भारतको अन्तर्राष्ट्रिय सीमा नाका खुल्ला गर्ने निर्णय गरेका थियो ।

    कोरोना महामारीको अवस्था अहिले दुवै देशमा सामान्य हुँदै गएकोले सरकारले सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।

    जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले सीमा नाका खुल्ला भएपछि भारतसँगको व्यापार व्यवसायमा सहजता हुने बताउनुभयो ।

    उहाँले दुवै देशमा कोरोना महामारी नियन्त्रण उन्मुख भएकाले सीमा नाका खोल्ने सरकारको निर्णय स्वागत योग्य भएको बताउनुहुँदै यसको शीघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

    पर्यटन व्यवसायी सन्तोष साहले सीमा नाका खुल्ला भएपछि जनकपुरधामको धार्मिक पर्यटन प्रबद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    जनकपुरमा विगत दुई वर्षदेखि धार्मिक पर्यटक आगमनमा निक्कै कमी आएको छ ।

    जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले कोरोनाका कारणले बन्द रहेको नेपाल भारतको अन्तर्राष्ट्रिय सीमा नाका खुल्ला भएपछि जनकपुरधामको भ्रमणमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताउनुभयो ।

    उहाँले विगत दुई वर्षदेखि कोरोना महामारीका कारणले नेपाल भारतको सीमा नाका बन्द भएका कारणले धार्मिक पर्यटकको आगमनमा व्यापक मात्रामा कमी आएको बताउनुभयो ।

    जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनाका लागि भारतको सीमावर्ती राज्यका अतिरिक्त उत्तराखण्ड, गुजरात, दिल्ली, मद्रास, आन्द्रप्रदेश, हिमाचल सहितका राज्यहरूबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन् ।


    क्याटेगोरी : अर्थ, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस