• The Public Today
  • कोभिड-१९ को असर : बढ्दै बालबालिकामा मानसिक समस्या


    काठमाडौं, असोज २१ गते । कोभिड-१९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्या देखिएको पाइएको छ । नेपालभित्र र विश्वभर भएका यस्ता अध्ययनमा कोरोना महामारीका कारण बालबालिकाले केही वर्षसम्म परिवार, साथी, कक्षाकोठा र खेलकुदजस्ता महत्वपूर्ण विषयबाट टाढा रहनुपरेको देखिएको छ ।

    संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सन् २०२१ को अक्टोबर महिनामा सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभर ७ जनामध्ये कम्तीमा १ जना बालबालिका लकडाउनबाट प्रभावित भएका छन्, १ अर्ब ६० करोड भन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् । अस्तव्यस्त दिनचर्या, शिक्षा, मनोरन्जन, पारिवारिक आय र स्वास्थ्यको चिन्ता आदि कारणले धेरै युवाले डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता महसुस गरेको युनिसेफले जनाएको छ ।

    विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ किशोरकिशोरी मानसिक समस्याका साथमा बाँचिरहेका युनिसेफको अनुमान छ । प्रत्येक वर्ष करिब ४६ हजार किशोर किशोरीले आत्मत्या गर्ने तथ्यांक छ । नेपालमा पछिल्लो ५ वर्षमा देशभर दुई हजार ४३७ बालबालिकाले आत्महत्या गरेका छन् । यसमा बालक ९६५ र बालिका एक हजार ४७२ छन् । महामारीको अवधिभर गत एक वर्षमा ७६४ बालबालिकाले आत्महत्या गरेका छन् ।

    युनिसेफका अनुसार अहिले बालबालिकामा ठूलो समस्याको सानो भागमात्रै देखिएको हो । कोभिड(१९ भन्दा पहिलेदेखि नै यो विषयमा कुनै महत्वपूर्ण लगानी र चासो नभएको हुनाले बालबालिका र युवाहरूले मानसिक स्वास्थ्य संकट भोग्नुपरेको प्रतिवेदनको निचोड छ । विश्वव्यापी रुपमै सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि विनियोजन गर्ने गरिएको छ ।

    ‘द स्टेट अफ द वर्ल्ड्स चिल्ड्रेन २०२१’ नामक एक अध्ययनमा १५ देखि २४ वर्ष उमेर समूहका ५ युवामध्ये १ जनाले निराश महसुस भएको वा काम गर्न रुची कम भएको बताएका छन् ।

    कान्ति बाल अस्पतालको मानसिक विभाग प्रमुख डा। अरुणराज कुँवर विगतका वर्षहरुमा भन्दा मानसिक स्वास्थ्य समस्या भएका धेरै बालबालिका उपचारका लागि आएको बताउँछन् । ‘महामारीकालमा अधिकांश बालबालिका घरमै थुनिए, टेलिभिजन र इन्टरनेटमा व्यस्त भए । यो बेला मानिसले नै फैलाएको डरको कारण धेरै बालबालिका सकसमा छन्’ डा. कुँवर भन्छन् ।

    दुई दशकदेखि किशोर–किशोरीको मानसिक स्वास्थ्य उपचारमा सक्रिय डा। गंगा पाठक महामारीकालमा मानसिक रोग भुसको आगोजस्तै सल्किएको बताउँछिन् । यसले समाजमा दीर्घकालीन असर पार्ने उनको विश्लेषण छ ।

    उनका अनुसार महामारीको बेला घरमै थुनिएको र इन्टरनेटको लतका कारण बालबालिकामा ध्यान केन्द्रित गर्न नसक्ने तथा ज्यादा चकचके स्वभावजन्य समस्या, चिन्ता, अटिजम, बाइपोलर डिसअर्डर देखिएको छ ।

    महामारीको बेला बालबालिकाको मानसिक स्वास्थ्यको अवस्था अध्ययन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ९एनएचआरसी० पनि नेपालका सातै प्रदेशमा सन् २०१९ जनवरीदेखि सन् २०२० को जनवरीसम्म मानसिक स्वास्थ्य सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणको नतिजा अनुसार १६ वर्ष उमेर समूहका ७.७ प्रतिशत र १७ वर्षका ६.६ प्रतिशतमा मानसिक समस्या देखिएको छ ।

    सर्वेक्षणमा ५.२ प्रतिशत किशोरकिशोरी मानसिक समस्या रहेको, ०.६ प्रतिशतमा उदासीनता, ३.९ प्रतिशतमा आत्महत्याको सोच रहेको उल्लेख छ । सर्वेक्षणका अनुसार प्रदेश १ का किशोरकिशोरीमा मानसिक समस्या बढी (११.४ प्रतिशत) छ । लैंगिक हिसाबले किशोरीमा बढी समस्या देखिएको छ । ५.३ प्रतिशत किशोरीमा र ५ प्रतिशत किशोरमा मानसिक समस्या देखिएको सर्वेक्षणको निष्कर्ष छ ।

    मानसिक रोगको क्षेत्रमा काम गरेका चिकित्सकहरुका अनुसार धेरैजसो मानिस अन्य उपचार गर्दा ठीक नभएपछि मात्र मानसिक रोगका चिकित्सकोमा पुग्ने गर्छन् । उनीहरुका अनुसार आफूलाई मानसिक रोग भएको कसैले पनि शंका गर्दैन । ‘धेरै जसो धामीझाँक्री वा अन्य उपाय गर्दा निको नभएपछि हामी कहाँ आएका हुन्छन्’ डा। कुँवर भन्छन् ।

    ‘लन्डन स्कुल अफ इकोनोमिक्स’ ले यही अक्टोबरमा सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार युवाहरू मानसिक समस्याको कारण युवा अशक्त हुने वा उसको मृत्यु हुँदा अर्थतन्त्रमा घाटा भइरहेको छ । हरेक वर्ष मानसिक रोगका कारण हुने यस्तो घाटा ३ खर्ब ९० अर्ब डलर रहेको अनुमान छ ।

    युनिसेफले देशहरुका स्वास्थ्य मन्त्रायलाई सुझाव दिएको छ, ‘प्रत्येक बालबालिकाको क्षमता वृद्धिको महत्वपूर्ण तत्वप्रति असाध्यै थोरै लगानी भएको छ । यो परिवर्तन हुन अति आवश्यक छ ।’ अनलाईनखबर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, विचार, समाज, स्वास्थ्य


    प्रतिक्रिया दिनुहोस