• The Public Today
  • जनकपुरको राजदेवी मन्दिरमा १४ हजारबढी बोकाको बलि दिइयो


    • विजय कुमार सिंह

    ढल्केवर, असोज २८ गते । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष १४ हजारभन्दा बढी बोकाको बलि दिइएको छ ।

    बुधबार राति ८ देखि बिहिबार बिहान साढे ३ बजेसम्म चलेको बोका बलिमा १४ हजार २४१ बोकाको बलि दिइएको हो ।

    त्रेता युगमा मिथिलाका राजा जनकका कूलदेवता भनिएको राजदेवी मन्दिरमा हरेक वर्ष दसैंको महाअष्टमी तिथिको राति बोका बलि दिइँदै आएको छ ।

    २०७६ मा १४ हजार ६ सय ३३ बोका बलि दिइएको थियो । वर्षमा एकपटक मात्रै बोका बलि दिइँदै आएको राजदेवी मन्दिरमा अघिल्लो वर्ष कोरोना महामारीका कारण बोका बलिको संख्यामा कमी आएको थियो । गत वर्ष ८ हजार ९६८ बोकाको बलि दिइएको थियो ।

    कोरोनाको ग्राफ ओरालो लागेर अवस्था सामान्य भएपछि यो वर्ष पुनः बोका बलिको संख्यामा वृद्धि भएको हो । राजदेवी मन्दिरमा बोका बलि प्रदान गर्नका लागि नेपालका साथै छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु आउने गरेका छन् ।

    बोका बलिका लागि यसवर्ष ४ वटा ठेहा राखिएको थियो । स्थानीय महावीर युवा कमिटीका अनुसार प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित थिए । बलि प्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन सयौँको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस