• The Public Today
  • बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भिर


    सप्तरी, असोज ३० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत  सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा आज मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

    ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ  ।

    आफ्नो घरबाट सप्तरीको वीरेन्द्र बजारदेखि उत्तर चुरेजङ्गलमा अवस्थित शनि मन्दिरमा आज पूजा गर्न जाने क्रममा दुर्घटनामा हुँदा उनको मृत्यु भएको छिमेकी धिरज झाले जानकारी दिए । 

    त्यस्तै दुर्घटनामा परेर मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय अमरनाथ यादवको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स२प ३३३३ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना५ख ९००० नंको बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक चितवन मारी नगरपालिकाका ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस