• The Public Today
  • नेइमारले आरबी लाइपजिगविरुद्धको खेल गुमाउने


    गौशाला, कार्तिक २ गते । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेइमारले चोटका कारण च्याम्पियन्स लिगमा आज राति हुने आरबी लाइपजिगविरुद्धको खेल गुमाउने भएका छन् ।

    पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले नेइमार अन्तर्राष्ट्रिय बिदामा गएको बेला घाइते भएको बताएका छन् । उनले नेइमार अनुपस्थित हुँदा मेसीले आफ्नो स्वाभाविक प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

    विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा गएका कारण एन्जर्सविरुद्धको खेलमा पीएसजीका धेरै नियमित खेलाडी अनुपस्थित थिए । त्यसमध्ये २९ वर्षीय नेइमार पनि शुक्रबार पीएसजीको टोलीमा उपलब्ध थिएनन् । फ्रेन्च लिग वानको खेलमा पीएसजी २–१ ले विजयी भएको थियो ।

    “खेलाडी पूर्ण रूपमा फिट होऊन् भन्ने हाम्रो मुख्य प्राथमिकता हो,” पीएसजीका प्रशिक्षक पोचेट्टिनोले भने, “नेइमारमा केही समस्या छ । उनी ठिक हुन्छन् भनेर हामीले कुर्‍यौँ, तर सम्भव भएन । आशा गरौँ, उनी चाँडोभन्दा चाँडो टिममा फर्किनेछन् ।”

    नेइमारको चोटबारे पीएसजीले भनेको छ, “अन्तर्राष्ट्रिय बिदाबाट फर्किएपछि नेइमारको ग्रोइनमा समस्या देखिएको छ ।”

    नेइमारसँगै मिडफिल्डर लियनार्दो परेडेस र रक्षक सर्जियो रामोस पनि चोटका कारण आज राति हुने खेलमा उपलब्ध हुने छैनन् ।

    पीएसजी अहिले लिग वानको शीर्ष स्थानमा छ । पीएसजीले १० खेलबाट २७ अंक जोडेको छ । त्यो दोस्रो स्थानको लेन्सभन्दा ९ अंकले पछाडि हो ।

    च्याम्पियन्स लिगमा पनि पीएसजी दुई खेलबाट चार अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा छ । समान चार अंक जोडेको क्लब ब्रुग दोस्रो स्थानमा छ भने तीन अंक जोडेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । जर्मन बुन्डेसलिगाको लाइपजिग अंकविहीन छ ।

    पीएसजी समूह चरणको पहिले खेलमा क्लब ब्रुगसँग १–१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा सिटीलाई २–० ले हराएको थियो । पहिलो खेलमा सिटीसँग ६–३ ले हारेको लाइपजिग दोस्रो खेलमा पनि क्लब ब्रुगसँग २–१ ले पराजित भएको थियो । पीएसजी पछिल्लो ११ खेलमा अपराजित छ । ठिकविपरीत लाइपजिगले पछिल्लो पाँच खेलमा जित हासिल गर्न सकेको छैन ।

    नेइमार अनुपस्थित भए पनि लियोनल मेसीको उत्कृष्ट प्रदर्शनले लाइपजिगविरुद्ध पनि निरन्तरता पाउने विश्वास प्रशिक्षक पोचेट्टिनोले लिएका छन् । मेसीले तीन साताअघि सिटीलाई घरेलु मैदानमा हराउँदा एक गोल गरेका थिए ।

    ६ पटकका बालोन डी‘अर विजेता मेसी यसै सिजनको सुरुमा बार्सिलोना छाडेर पीएसजीसँग अनुबन्ध भएका थिए । मेसीबारे पीएसजीका प्रशिक्षक पोचेट्टिनोले भने, “उनी आफैमा स्टार खेलाडी हुन् । जुन उनले बार्सिलोना, अर्जेन्टिना र पीएसजीमा प्रमाणित गरिसकेका छन् । उनी अहिले टिममा घुलमिल भइसकेका छन् । क्लब र यो सहरमा उनी खुसी छन् । उनले सदाको जस्तै स्वाभाविक प्रदर्शन गर्नेछन् । उनी आफैले त्यो अपेक्षा राखेका छन् । र, सबैले उनीबाट अपेक्षा राखेका छन् । मैले पनि राखेको छु । यसका कुनै दुई मत छैन ।

    जर्मन बुन्डेसलिगाको क्लबविरुद्ध घरेलु मैदानमा पीएसजीले विगतमा सुखद नतिजा निकालेको छ । आठपटकको भेटमा पीएसजी सातपटक विजयी भएको छ । गत अप्रिलमा पीएसजी बायर्न म्युनिखसँग क्वार्टरफाइनलमा १–० ले हारेको थियो ।

    लाइपजिगविरुद्ध पनि २०२० मा च्याम्पियन्सलिगमै घरेलु मैदानमा पीएसजी १–० ले विजयी भएको थियो भने अवे खेलमा २–१ ले हारेको थियो । एजेन्सी


    क्याटेगोरी : खेलकुद, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस