• The Public Today
  • आर्सनल र चेल्सी काराबाओ कपको क्वार्टरफाइनलमा


    एजेन्सी : लिड्सलाई पराजित गर्दै आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा क्यालम च्याम्बर्स र एडी निकेताले गोल गर्दै आर्सनलाई जीत दिलाए ।

    उता, चेल्सीले पनि प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाउन सफल बनेको छ । चेल्सीले साउथ ह्याम्पटनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा चेल्सी ४–३ गोलले विजयी बन्यो ।

    काइ हाभर्टजले पहिलो हाफको अन्त्यतिर चेल्सीलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै चे एडम्सले बराबरी गोल फर्काएका थिए । त्यसपछि भने दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा साउथह्याम्पटनका लागि थियो वाल्कोट र विल स्मलबोन गोल गर्नबाट चुकेपछि रिस जेम्सले निर्णायक गोल गर्दै चेल्सीलाई जीत दिलाए । क्वार्टरफाइनलको ड्र शनिबार हुनेछ ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस