• The Public Today
  • ‘लेमन-टि’ बेचेर मासिक ५० हजार आम्दानी


    ढल्केवर, कात्तिक १० गते । हँसिलो मुहार । फुलेको कपाल । मिठो बोली । पहिरनमा टिसर्ट, हाफपैन्ट र काँधमा गम्छा । एक हातमा ‘टि–क्यान्टिनर’ र अर्को हातमा गिलाससहित सामान भएको बाल्टिन । प्राय यस्तै पहिरन र सरसामानसहित एकाविहानै धनुषाको ढल्केवरमा देखिन्छन् कैलालीका एकेन्द्र शाही ।

    दुईघण्टा बिहान, दुई घण्टा दिउँसो र दुईघण्टा साँझ । दिनमा तीनपटक ढल्केवरको विभिन्न चोक, पसल, सडक र गल्लीमा घुमिरहेको देखिन्छन् शाही । यो उनको दैनिकी हो ।

    कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाका ५५ बर्षिय शाही ढल्केवरमा डेढ वर्षदेखि लेमन टी (कालो चिया) बेच्दै आएका छन् ।

    चिया बेचेर मासिक ५० हजार आम्दानी भइरहेको उनी बताउँछन् । यसअघि उनी गाउँमै कृषि खेतिपाती गरेर घरपरिवार चलाउँदै आएका थिए ।

    वितेको जीवनमा कठिन संघर्ष गरेका शाही भारतको मुम्बई, विहारलगायत विभिन्न शहरमा चौकीदारी गरेको सम्झिन्छन् । त्यतिबेला ६ सय रुपैया प्रतिमहिनाका दरले नोकरी गरेको उनी बिर्सिन सकेका छैनन् ।

    ‘सुरुमा त भारतमा ६ सयमा काम गरेँ । दिनरात नभनि काम गर्नुपथ्र्यो । त्यतिबेला पनि सबै खर्च काटेर महिनाको ४ सय रुपैया बचाउँथे,’ अन्नपुर्णसँग कुराकानी गर्दै शाहीले भने ।

    परिवारसँगै उनीमाथि भार बढ्दै गयो । भारतमा काम गरेको बापतको पारिश्रमिक बढेपनि घरपरिवार धान्न उनलाई धौधौ हुनथाल्यो । स्वदेशमै केही गर्नुपर्छ भनेर लामो समयपछि फेरी उनी नेपाल फर्के ।

    उनलाई चौकीदारी बाहेकको कुनै सिप थिएन । उनी गाउँमै खेतिपाती गर्न थाले । शाहीका अनुसार पुर्खौली जमिन १० कठ्ठा छ । त्यसमै उनले अगाडी घर बनाएर पछाडी बाली लगाएका छन् ।

    कृषिपछि शाहीले गाउँभन्दा बाहिर गएर कमाउने योजना बुने । गाउँकै छिमेकी साथीहरुको सम्पर्कले डेढबर्ष अघि ढल्केवर आएको शाही बताउँछन् । दुई हजार रुपैया प्रतिमहिना घर वहालमा बसिरहेको उनको भनाई छ ।

    शाही डेढ वर्षदेखि चिया बेचेर ७ जना परिवारको भरनपोषण गरिरहेका छन् ।

    दैनिक विहान कोठामै उनी कालो चिया तयार पारेर टि–क्यान्टिनर (चिया तातै राख्ने भाँँडो)मा राख्छन् । गिलास र चिया मसालासहितको बाल्टिन लिएर पसल पसलमा चहार्छन् । उनको सरल स्वभाव, लोभ्याउने बोली र मिठो चियाले कतिपय दैनिक ग्राहक समेत बनेको छ ।

    प्रति कप १० रुपैयाका दरले उनी चिया विक्री गरिरहेका छन् । दिनमा दुईसय कपको हाराहारीमा चिया बिक्री भइरहेको शाही बताउँछन् ।

    ‘कालो चियो घुमेर बिक्री गर्ने पहिला हामी दुईजना थियौं । अहिले एकजना थपिएका छन् । सबैको कमाई उस्तै छ,’ शाही भन्छन् अहिले आनन्द छ । भारतभन्दा निकै सजिलो छ । कुनै तनाव छैन । राति निफिकिर सुत्छु ।’

    शाही दम्पतीको दुईछोरा र तीन छोरी छन् । तीन छोरी र एक छोराको विवाह भइसकेको छ । तीनै जना छोरीको विवाह कैलालीमै गरेको शाही बताउँछन् ।

    उनको ३३ वर्षिय जेठो छोरा दिपेन्द्र शाहीको पनि दुईछोरा छ । दिपेन्द्रले एचए पढेको भएपनि उनी बेरोजगार छन् । दई नातिसँगै छोरा बुहारीलाई पनि आफ्नै कमाईले पालिरहेको शाहीको भनाई छ ।

    उनका अनुसार २२ वर्षिय काछो छोरा हितमत जंग शाही काठमाडौमा विज्ञान पढिरहेको छ । ११ कक्षादेखि काठमाडौं पढेका हितमत अहिले विएससी तेश्रो वर्षमा अध्यनरत छन् । पढिरहेकोले उनको विवाह अहिले नगरेको उनी बताउँछन् ।

    ‘कान्छो छोरो राजधानीमा साइन्स पढ्दै छ,’ उनी भन्छन् ‘पैसा जति खर्च भएपनि गर्छु । आवश्यक परेको बेला उनको खातामा पैसा पठाइरहन्छु । पढाई राम्रो छ । रेगुलर पास भइरहेको छ । त्यतिमै खुशी छु ।’

    कोरोना कहरमा डेढलाख रुपैया लागेको शाही बताउँछन् । ‘कोरोनाले निकै समय लकडाउन रह्यो । आर्थिक अवस्था विग्रिएपछि ३ रुपैया सैकडामा गाउँमै ऋण लिए,’ कुराकानीमा शाहीले भने ‘अहिले अवस्था सहज भएको छ । कमाएर विस्तारै तिरिरहेको छु ।’

    अन्नपुर्णसँगको कुराकानीमा उनले ढल्केवरको निकै गुणगान गरे । यहाँका वासीन्दाबाट निकै माया पाइरहेकोमा खुशी व्यक्त गरे । ‘ठाउँ पनि सुन्दर छ । मान्छेहरु पनि सबैसँग राम्रो व्यवहार गर्छन । यतिको दिनमा मलाई कहिल्यै बाहिर छु भन्ने महसुस भएन,’ शाहीले भने ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस