भन्सार छली भारत लैजाँदै गरेको हरियो मटर बरामद

द पब्लिक टुडे
ढल्केवर, मंसिर ९ गते ।
भन्सार छली भारततर्फ अबैध रुपमा लैजाँदै गरेको ठुलो परिमाणको हरियो मटर प्रहरीले बरामद गरेको छ ।

बुधवार धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिका ६ बहेडाबेला स्थित सडक खण्डबाट ११ वटा भारतिय तथा नेपाली मोटरसाइकलमा भन्सार छली भारततर्फ अबैध रुपमा लैजाँदै गरेको १२ क्वीन्टल हरियो मटरसहित ती सबै मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले लुकीछिपी अबैध रुपमा भारततर्फ लैजाँदै गरेको ११ लाख २२ हजार पाँचसय रुपैया बराबरको अबैध भन्सार तथा चोरी निकासीका सामानहरु पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रहरीलाई देख्नसाथ तस्करहरु मटर र मोटरसाइकल छोडेर भागेका थिए । त्यहाँबाट बरामद गरिएको २५ केजीको दरले रहेको ४९ बोरा मटर र ११ वटा भारतिय तथा नेपाली मोटरसाइकल जनकपुरस्थित भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।