• The Public Today
  • सर्वोच्च अदालत : १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय


    अर्जुन श्रेष्ठ

    काठमाडौं,मंसिर ९ गते । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले मङ्सिर १५ गतेबाट गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ ।

    आज बसेको पूर्ण बैठकले करिब एक सातामा सम्पूर्ण तयारी पूरा गरेर मङ्सिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो ।

    सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले संशोधित नियमावली अनुसार पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने जानकारी दिनुभयो ।

    सर्वोच्च अदालतका न्यायाधीशहरू सहभागी पूर्ण बैठकले प्रधानन्यायाधीशको अध्यक्षतामा अन्य दुई जना वरिष्ठतम न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोक्ने निर्णय गरेको छ ।

    प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरूको पूर्ण बैठकले गत एक साता अघि सर्वोच्च अदालत नियमावली संशोधन गरेका थिए । सो संशोधित व्यवस्था राजपत्रमा प्रकाशित भएपछि बैठकले गोलाप्रथाबाट पेशी तोक्ने मिति तय गरेको हो ।

    यसैबिच, प्रधानन्यायाधीश जबराले राजीनामा मागेर विरोध प्रदर्शनलाई जारी राखेको नेपाल बार एसोसिएसनले आज पनि धर्ना तथा विरोधका कार्यक्रमलाई जारी राखेको छ ।

    नेपाल बार एसोसिएसनको अग्रसरता नेपाल बारसहित ७ वटा संस्थाले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म न्याय मार्च गरेका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा र न्यायालय पुर्नःसंरचनाको आन्दोलनमा अन्य सङ्घसंस्थाले साथ दिँदै प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाउन राजनीतिक दल र संसद्लाई दबाब दिन र्‍याली निकालेका हुन् ।

    सो न्याय मार्चमा नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, नेपाल आदिवासी जनजाति महासङ्घ र बृहत् नागरिक आन्दोलनको सहभागिता थियो ।

    बारले गर्दै आएको तेस्रो चरणको विरोधको कार्यक्रम भोलिसम्म जारी रहने छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस