मलेसियालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

काठमाडौं,मंसिर १० गते। मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी २० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रन जोडिन् । सीताले ३८ बलमा तीन चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ र कविता कुवरले १० रनको योगदान दिए । मलेसियाकी आइस्या इलिसाले एक विकेट हात पारिन् ।

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को आइसीसी क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको योगफल खडा गरेको थियो ।

मलेसियाका लागि एल्सा हन्टरले ३९ रन बनाएकी थिइन् । त्यस्तै मस ऐल्साले १४ र युसरिना याकुुपले १२ रन जोडेकी थिइन् । नेपालकी सवनम राईले दुई तथा कप्तान रुविना क्षेत्री, सीता राना मगर र कविता कुन्वार समान एक विकेट लिएका थिए ।

जितसँगै नेपाल ४ खेलबाट ६ अंक भएको छ । ३ खेलबाट समान ६ अंक भएपनि यूएई नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष १ ले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।न्युज कारखाना