छोराको पर्खाइमा वृद्धा श्यामसुन्दरी

दमक,मंसिर १३ गते।झापाको कमल गाउँपालिका–६ सोनापुरकी ७६ वर्षीया श्यामसुन्दरी बस्नेतले कान्छो छोरा अमृतबहादुरको बाटो हेरेको दुई दशक नाघ्यो।

मजदुरी गरेर जीविका चलाउँदै आएको परिवारको कान्छो छोरा रोजगारीका लागि माल्दिभ्स गएका र हालसम्म नफर्किएपछि श्यामसुन्दरीको मन पिरोलिँदै आएको छ।

धन कमाएर परिवार पाल्ने सपना लिएर विदेश गएका छोरा यतिका वर्षसम्म सम्पर्कविहीन हुँदा परिवारमा नै पिर परेको उनी बताउँछिन्। बस्नेत परिवारका ६ छोरामध्ये अमृत कान्छा हुन्। अरू दाजु गाउँघरमा आ–आफ्नै काममा छन्।

श्यामसुन्दरीका अनुसार आमाबाबु पाल्ने जिम्मेवारी कान्छा छोराको भागमा थियो। काखे छोरो र बुहारी परिवारको जिम्मा लगाएर विदेश गएको २० वर्ष पुगिसक्यो। त्यस वेला उनका छोरा १० महिनाका थिए। ती छोरा पनि अहिले २० वर्षका भइसकेका छन्।

‘आम्दानीको दिगो स्रोत खासै थिएन, कृषि मजदुरी गरेर परिवार धान्दै आएका थिए, विदेश गएर पैसा कमाउने र आएर पक्की घर बनाउने सपना थियो’‚ श्यामसुन्दरीले भनिन्, ‘छोरो गएको नौ महिनापछि छोराले काम छोड्यो भन्ने खबर आयो, काम छोडेपछि त घरै आउला नि भन्ने थियो, विदेश गएर कमाएर घर बनाउने आमा भन्थ्यो, छोरो आउला आउला भन्दाभन्दै बाबु पनि बिते, अहिले बुढेसकालमा एक्लै भएकी छु।’

श्रीमान् बेपत्ता भएपछि काखे नानी हुर्काउँदै उनकी श्रीमती पनि १४ वर्ष बसिन्। त्यसपछि विदेशिएका श्रीमान् बेखबर भएपछि उनले अर्कैसँग विवाह गरिन्। छोरा बेखबर भएको घटना गाउँघर, स्थानीय सरकारका प्रतिनिधिसँग गुहार गरे पनि कतै पनि सुनुवाइ नभएको उनले पीडा सुनाइन्।

युट्युब, फेसबुक जस्ता विभिन्न सामाजिक सञ्जालमा वर्षौ हराएका व्यक्ति पनि भेटिएका खबर सुन्दा वृद्धा आमालाई पनि आशा लाग्छ। यस्तो खबर सुन्दा हराएको छोरो पनि कतै भेटिएला कि भन्ने आशा बढाउने उनी बताउँछिन्। गाउँघरका छोराछोरी विदेश गएर फर्किएको उनले घर वरिपरि आफ्नै आँखाले नजिकैबाट देखेकी छन्।

छोरा विदेश गएको म्यानपावर कम्पन्नीका बारेमा समेत बस्नेत परिवारलाई थाहा छैन। जग्गा बेचेर विदेश पठाएको छोरा कुन कम्पनीबाट त्यहाँ पुगे र कुन अवस्थामा छन् भन्ने बारे बस्नेत परिवार बेखबर छ।रासस