गाँजा लोड स्कार्पियो भाग्न खोजेपछि पुलमा ठोकियो, एक भारतीय पक्राउ

द पब्लिक टुडे
ढल्केवर, पुस ४ गते ।
धनुषाबाट लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको मधुवनी जिल्लाखिरहर थाना हिसार ग्राम पञ्चायत वडा नं ४ बस्ने रामदिप महतोको २२ बर्षिय छोरा विजय कुमार महतो पक्राउ परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

शनिवार साँझ ७ बजे बिआर ३२के ९१२७ नम्बरको स्कार्पियोमा सवार पाँचजना व्यक्तिहरु संकास्पद रुपमा महोत्तरीको बर्दिवासबाट ढल्केवरतर्फ आइरहेको भन्ने विशेष सुचनाको आधारमा इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीको कमाण्डमा ढल्केवरमा चेकजाँच गरिएको थियो ।

पाँचजना सवार रहेको उक्त स्कार्पियोलाई ढल्केवर चेकप्वाइन्टमा चेकजाँचका लागि रोक्न खोज्दा नरोकी जनकपुरतर्फ भाग्न खोज्ने क्रममा प्रहरीको टोलीले पछ्याएपछि उनीहरुले गाडीबाटै गाँजा भएको प्लाष्टिकको बोरा फालेर तीव्र गतिमा भाग्न खोजेपछि उक्त स्कार्पियो पुलमा ठोकिएर दुर्घटना भएको प्रहरी निरीक्षक सुवेदीले जनाए ।

उनका अनुसार दुर्घटना हुनसाथ गाडीमा सवार पाँचैजना भागेका थिए । उनीहरुलाई खोजतलास गर्ने क्रममा उखु घारीबाट महतोलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवेदीले जनाए । गाडीमा सवार अन्य व्यक्तिहरु फरार रहेको उनले बताए ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार गाडीबाट फालेको बोराबाट साढे १९ केजी गाँजा बरामद भएको हो । उनीहरु सवार गाडी समेत प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।