धनुषा : ट्रकमा आगजनी, तीन पक्राउ

द पब्लिक टुडे
गौशाला, पुस २० गते ।
धनुषामा एक ट्रकमा आगजनी गरेकाको आरोपमा तीन जना पक्राउ परेका छन् । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आगजनी गरेको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो करिब साढे ३ बजे पश्चिमबाट पूर्वतर्फ आइरहेको उक्त ट्रकमा किसान आन्दोलनको क्रममा आन्दोलनकारीले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आगजनीबाट ट्रक पुर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आगजनी गरेको आरोपमा प्रहरीले जनमतका धनुषा जिल्लाध्यक्ष सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, कार्यकर्ताद्वय चन्दन कुमार साह र नविन पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता एवम डिएसपी जीतेन्द्र कुमार बस्नेतले जनाएको छ ।

तीनै जनालाई ट्रकमा आगो लगाएको आरोपमा पक्राउ गरिएको हो र घटनाको थप अनुसन्धान भइरहेको उनले जनाएको छ ।