• The Public Today
  • सरकारले उखुको समर्थन मूल्य ५९० रुपैया तोक्यो


    द पब्लिक टुडे
    गौशाला, पुस २१ गते ।
    सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो ।

    तोकिएको समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ । गत वर्षभन्दा सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल करिब ४६ रुपैयाँ बढाएको छ । किसानले ६५० रुपैयाँ तोकिनुपर्ने माग गर्दै आएका थिए ।

    ‘किसान र उद्योगीसँग पटकरपटक छलफल गरी कृषि विभागको टोलीले जिल्लामा गएरै किसानको लागत, ढुवानी खर्च निकालेका थिए । २० प्रतिशत मुनाफा, जिल्लामा चलेको दरको आधारमा प्रस्ताव बनाएर उद्योग मन्त्रालयमा पठाएका थियौँ’ कृषि सचिव गोविन्द शर्माले भने, ‘गत वर्षको तुलनामा उखुको मूल्य बढाएका छौं ।’

    सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो ।

    त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६/७७ का लागि ५३६ रुपैयाँ ५६ पैसा तथा आर्थिक वर्ष २०७५/७६ को लागि पनि त्यति नै मूल्य कायम गरिएको थियो । किसानहरुले भने मूल्य नतोक्दै यसअघिबाटै उद्योगीलाई उखु बेच्न थालिसकेका छन् ।


    क्याटेगोरी : अर्थ, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस