राप्ती नदीमा सुरु भयो जलयात्रा

राझाँ, चैत १९ गते । बाँकेमा पर्यटन प्रवद्र्धनका लागि राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा जलयात्रा सञ्चालन भएको छ । गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालयले गाउँपालिका–१ कुसुम बैरियादेखि वडा नं. २ अगैयासम्मको राप्तीनदीमा आजदेखि जलयात्रा सञ्चालन गरेको हो ।

जलयात्राको दूरी करिब २७ किलोमिटर रहेको पर्यटन डिभिजन कार्यालयका प्रमुख माधव ज्ञवालीले जानकारी दिए । उनका अनुसार पर्यटन प्रवद्र्धन, रोजगारीका अवसर सिर्जना र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सुरु गरिएको यो लुम्बिनी प्रदेशकै पहिलो जलयात्रा हो ।

जलयात्रा सुरु भएपछि बाँकेमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि ठूलो सहयोग पुग्ने पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार अगैयादेखि डुडुवा गाउँपालिकाको कम्दीस्थित सिधनिया घाटसम्म जलयात्रा सञ्चालनको सम्भावना अध्ययन भइरहेको छ ।

अगैयामा सिक्टा सिँचाइ आयोजनाको मुख्य बाँध र पुल अवलोकन गर्न अहिले दैनिकरुपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

नदीको पारिपट्टी वनभोज तथा भ्रमण गर्न ठूलो सङ्ख्यामा नेपालगञ्ज र कोहलपुरबाट सर्वसाधारण पुग्ने गरेको गाउँपालिका–२ का अध्यक्ष मदन ओलीले जानकारी दिए ।

उनले सिक्टा सिँचाइको नहरमा नियमितरुपमा पानी सञ्चालन भएपछि अगैया क्षेत्र अहिले पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको बताए । रासस