जनकपुर साहित्य, कला तथा नाट्य महोत्सव”को उद्घाटन

जनकपुर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले “जनकपुर साहित्य, कला तथा नाट्य महोत्सव”को उद्घाटन गरेका छन्।

महोत्सवको उद्घाटन गर्दै नेपालले मैथिली भाषा तथा संस्कृतिको इतिहास ५ हजार वर्ष पुरानो रहेकोे बताए।

नेपालले अधिकार प्राप्तिका लागि घृणा मात्र नभई सद्भाव एवं सहकार्यको आवश्यकता भएको समेत बताए।

विविध संस्कृति र भाषाभाषी मिलेर बनेको नेपाललाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास गर्न आवश्यक रहेको उनले जोड दिए।

त्यस्तै,महोत्सव कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संविधान प्रदत अधिकार अनुरुप मधेश सरकारले प्रदेशको कामकाजी भाषाको घोषणा छिट्टै गर्न लागेको बताए ।

प्रदेशको कामकाजी भाषा सम्बन्धि विधेयक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले एक महिना भित्र विधेयक प्रदेश सभामा दर्ता हुने र प्रदेश सभाबाट पारित भए लगतै मधेश प्रदेश आफनै भाषामा सरकारी कामकाज शुरु गर्ने जानकारी दिए।

मधेश सरकार प्रदेश भित्रका भाषा संस्कृतिको संरक्षण सम्बर्द्धन गर्न प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्री राउतले मधेश भाषा साहित्य प्रज्ञा प्रतिष्ठान गठनको तयारी अन्तिम चरणमा समेत पुगेको जानकारी गराए।

उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले मैथिली विकास कोषले प्रदान गर्दै आएको डा‍. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक डा. रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा।आभास लाभलाई प्रदान गरेका छन् ।

त्यसैगरी डा। धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरे। दुवै पुरस्कारमा ५१ हजार नगद, सम्मान पत्र तथा दोसल्ला रहेका छन्।

२५ गतेसम्म चल्ने कार्यक्रममा विभिन्न प्रकारका गीत सङ्गीत, नृत्य, झाँकी प्रदर्शन हुनेछ ।