महोत्तरीका माओवादी नेताहरुलाई प्रचण्डले के भनेर फर्काए ?

बर्दिवास, चैत २८ गते । महोत्तरीका माओवादी केन्द्रका नेताहरू जिल्ला तथा पालिकाको गठबन्धनका विषयमा अल्लमल्ल बनिरहेको बेला आफ्ना शीर्ष नेताहरूसँग छलफल गरेका छन ।

नेपाली कांग्रेस महोत्तरीका नेताहरूले आइतबार सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेतासँग छलफल गरेर फर्किए लगत्तै माओवादी केन्द्रका नेताले पनि अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसँग छलफल गरेर फर्किएका छन् ।

सोमवार बेलुका जिल्लाका नेताहरूले प्रचण्डसँग छलफल गर्दा गठबन्धनमा अडिग रहन निर्देशन भएको छलफलमा सहभागी केन्द्रीय सदस्य तथा महोत्तरीका नेता प्रकाश पोखरेलले जानकारी दिए ।

५ वैसाखभित्र उम्मेदवारसमेत टुंगो लगाउन निर्देशन भएको नेता पोखरेलको भनाइ छ । नेताहरूले अध्यक्ष प्रचण्डलाई जिल्लामा पार्टीको अवस्था र सत्ताघटक गठबन्धन दलको विषयमा रिपोर्ट गरेका थिए ।

महोत्तरीका नेता तथा केन्द्रीय सदस्य रामकुमार शर्मा, भरत साह, राजु खडका, भवानी खडका, प्रकाश पोखरेल, स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलसहित छलफलमा पुगेका थिए ।

मंगलबार नै मधेश प्रदेशमा गठबन्धनको मोडालिटीको समबन्धमा बैठक बस्दै छ भने केन्द्रमा पनि गठबन्धनको अल्लमल्ललाइ भोलि नै निष्कर्षमा पुर्‍याउने तयारी भएको छ ।

यता गठबन्धनको विपक्षमा रहेका नेपाली कांग्रेसका नेताले सभापति शेरशहादुर देउवालाइ भेटेर फर्किएपछि जिल्लामा नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् । नेपाली कांग्रेसका जिल्ला नेता चिरिन्जिबी हमाल, नागेस्वर यादवलगायतका नेताले आइतबार शीर्ष नेतालाई भेटेर जिल्ला फर्किएका थिए ।

गठबन्धनप्रति असन्तुष्टि जनाइरहेका नेता, कार्यकर्तालाई पनि आज सत्ताघटक दलले निकालेको संयुक्त अपिलले मथर बनाएको छ ।

मंगलबार गठबन्धनको मोडालिटी बनेपछि जिल्लामा चुनावी रौनक सुरु हुने देखिएको छ ।

माओवादी केन्द्र महोत्तरी पनि उम्मेदवार छान्न अल्लमल्लमा परिरहेको वेला नेताहरूको छलफलले उम्मेदवार छनोटको प्रक्रियामा निर्धक्क भएर लाग्न बाटो खुल्ला भएको नेताहरूले बताएका छन् ।