छात्रवृत्तिमा कृषि विषयमा डिप्लोमा अध्ययनको व्यवस्था 

गौशाला, जेठ ९ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन् ।

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई शपथ ग्रहण गराउनुभयो, पछि अध्यक्षबाट पालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले शपथ ग्रहण गरे ।

पदभार सम्हाल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा कृषि विषयमा डिप्लोमा अध्ययनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै उहाँले गर्भवती, सुत्केरी र विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, न्यूनतम विद्युत् उपभोग गर्ने घरधुरीमा निःशुल्क विद्युतको व्यवस्था मिलाउने, वर्षमा कम्तीमा एक पटक निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने लगायतका प्रतिबद्धता पनि जनाउनुभयो ।

गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथसहित पूर्व जनप्रतिनिधिको बिदाइ कार्यक्रम सँगै आयोजना गरिएको हो ।

उज्यालो अनलाइन बाट