धनुषा : आजदेखि ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाइने

निरुता चौधरी
गौशाला, असार ९ गते । धनुषामा आजबाट ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय धनुषाकाअनुसार पहिलो चरणमा प्रदेशका ५ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्साका बालबालिकालाई खोप दिइने भएको हो ।
सोही कार्यक्रमअन्तर्गत धनुषामा पनि खोप दिइने छ । धनुषामा १ लाख १३ हजार ८९५ बालबालिकालाई १ हजार २४० खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका निमित्त प्रमुख युगलकिशोर यादवले बताए ।
लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने बताउँदै उनले पहिलो खोप असार ९ देखि १३ गतेसम्म र दोस्रो मात्रा साउन ९ देखि १३ गतेसम्म दिइने जानकारी दिए ।
बालबालिकालाई दिइने फाइजर पेडियाट्रिक नामक खोप सुरक्षित रहेको दाबी गर्दै उनले कोरोनाबाट बचाउन लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन आग्रह समेत गरे ।
मधेशका ५ जिल्लाका ५ लाख १६ हजार २३६ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । मधेश प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७१६ जनसंख्या रहेको छ ।
क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज, स्वास्थ्य
प्रतिक्रिया दिनुहोस