द पब्लिक टुडे
गौशाला, असोज २९ गते ।
महोत्तरीमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई सबल र शसक्त बनाउन प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।
माण्डवी नामक गैरसरकारी संस्थाको आयोजना, आइएफएसको प्राविधिक सहयोग र अस्ट्रेलियन एडलगायतका संस्थाको आर्थिक सहयोगमा महोत्तरीको औरही नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई सबै भूमिकामा सक्षम र आत्मनिर्भर बनाउन प्रशिक्षण थालिएको हो ।
शी लिड्स अर्थात महिला नेतृत्व कार्यक्रम अन्तर्गत निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चारदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत प्रियंंका ठाकुरले जानकारी दिईन् । उनका अनुसार यो कार्यक्रम बर्दिबास नगरपालिका, जलेश्वर नगरपालिका, पिपरा गाउँपालिका, औरही नगरपालिका र भंगहा नगरपालिका गरी जिल्लाको पाँचवटा पालिकामा कार्यक्रम सञ्चालनमा रहेको छ ।
प्रदेशभरीमा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी पाँचवटा जिल्लामा शी लिड्स कार्यक्रम चलिरहेको अधिकृत ठाकुरले बताईन् । तीन मोड्युलमा महिला जनप्रतिनिधिहरु प्रारम्भिक प्रशिक्षण दिने कार्य भईरहेको उनले जनाईन् । यसअघि दोस्रो मोड्युलको प्रशिक्षण कार्यक्रम अन्तर्गत महिला नेतृत्वको परिचय, आत्मविश्वासको अभिवृद्धि, लैङ्गिकता र लैङ्गिक समानता लगायतको विषयमा तालिम दिइएको थियो ।
शुक्रवारबाट सुरु भएको तेस्रो मोड्युलको प्रशिक्षण कार्यक्रममा समूहकार्य, बैठकको योजना र व्यवस्थापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली, सञ्जालीकरण, सञ्चालमाध्यमसँग सहकार्य, विकास, समुदाय परिचालन, व्यक्तिगत विकासका लक्ष्यहरु र कार्ययोजना लगायतको विषयमा प्रशिक्षण दिईने कार्यक्रम अधिकृत ठाकुरले बताईन् । चारदिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा पालिकाभित्रका एकजना बाहेक सबै महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको उनले जानकारी दिईन् ।
कार्यक्रममा पार्वती भट्टराई, सेतरमान ठोकर, सेफरुल कवारीलगायतले प्रशिक्षण दिईरहेको आयोजक संस्था माण्डवीले जनाएको छ । उक्त संस्थाले पालिकाका मेयरसहित सरोकारवाला, महिला जनप्रतिनिधिका घरमूली लगायतसँग यसअघि एकचरणमा अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम गरिसकेको बताइएको छ ।





