१५ हजार युरो राशिको पुरस्कार पैरवी मञ्चलाई

द पब्लिक टुडे
गौशाला, कार्तिक २७ गते ।

मधेस प्रदेशका विभिन्न जिल्ला कार्यरत सामुदायिक विकास तथा पैरवी मञ्चले १५ हजार युरो राशिको पुरस्कार प्राप्त गरेको छ ।

नेदरल्याण्डमा मुख्यालय रहेको ग्लोबल सेन्टर अन एड्याप्टेसन नामक संस्थाले यो वर्षदेखि दिन थालेको स्थानीय अनुकूलन च्याम्पिययन अवार्ड (लोकल एड्याप्टेसन च्याम्पियन अवार्ड) अन्तर्गतका विभिन्न चार विधामध्ये लोकल इनोभोनेशन क्याटागोरीमा मञ्चले उक्त पुरस्कार पाएको हो । गत आइतबारदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को एक कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।

भर्चुअल माध्यमवाट पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव तथा ग्लोबल सेन्टर अन एड्याप्टेसन सञ्चालक समितिका अध्यक्ष वान्की मुनले स्थानीय अनुकूलनका लागि स्थानीय सरकार र समुदायको महत्वपूर्ण योगदान हुने र विकास योजनालाई समावेशी बनाउनुपर्ने बताउनुभयो ।

पुरस्कार वितरण समारोहमा बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जलवायु अनुकूलन राष्ट्रिय नीतिले निर्दिष्ट गरेअनुसार नेपालले जलवायु कार्यहरू गर्दै आएको बताउनुभयो ।

सो संस्थाले मधेस प्रदेशका अन्य विकास साझेदार संस्था तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै चुरे संरक्षण, संवद्र्धन, नदी प्रणाली व्यवस्थापन, वन तथा वन्यजन्तु संरक्षण, बगरमा फलफूल खेती गरी बगैँचा र तरकारी खेती प्रवद्र्धन गर्दै आएको जनाइएको छ ।

संस्थाको सक्रियता र सहजीकरणमा चुरे क्षेत्रहरूमा जलाधार संरक्षण पोखरीहरू निर्माण भई तल्लो तटीय क्षेत्रमा ग्राउण्ड वाटर रिचार्ज हुन सहयोग पुगेको र यसले वन तथा वन्यजन्तु संरक्षणमा पनि सहयोग भएको सस्थाको दाबी छ ।

यसैगरी वर्षभरि नै सिँचाइका लागि चुरेबाट बग्ने नदीहरूबाट चुहेको पानीलाई व्यवस्थापन गरी सिँचाइ सुविधा पु¥याई एकै वर्षमा तीन बाली खेती सहजै हुने गरेको र यसले स्थानीय तहको खाद्य सुरक्षालाई समेत टेवा पुगेको अध्यक्ष यादवको कथन छ । यसबाहेक खहरेखोल्सामा स–साना चेकड्याम निर्माण गरेर पानीको बहाव कम गर्दै इन्टेक ट्याङ्कीमा सङ्कलन गरेर स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताइएको छ ।