- शंकर महताे
विश्वव्यापी आर्थिक परिदृश्य ‘ग्लोबल इकोनोमिक आउटलुक, २०२२’ प्रकाशनमा ल्याएको छ । यसले निकट भविष्यमै विश्व अर्थतन्त्रको एकतिहाइ भाग मन्दीतर्फ धकेलिन सक्ने प्रक्षेपण गरेको छ ।
कोभिड–१९ को महामारीबाट थलिएको विश्व अर्थतन्त्र मन्दीतर्फ जाने संकेत देखिनु ठूलो चुनौतीको विषय हुन गएको छ ।विश्वका ठूला अर्थतन्त्रहरूमा आँधीहुरी आइरहेको बेलामा नेपालको अर्थतन्त्रले पनि अप्ठ्यारा संकेतहरू देखाउन थालेको छ । अहिले अर्थतन्त्रका केही बाह्य सूचकहरूमा आत्तिहाल्नुपर्ने अवस्था नदेखिएको भए पनि आन्तरिक सूचकहरूले भने अप्ठ्यारो अवस्था इंगित गरेका छन् । नेपालको मुद्रास्फीति दर अकासिएको छ ।
यसलाई समयमै नियन्त्रणमा ल्याउन सकिएन भने आगामी दिनमा जनताको दैनिक जीवनमा ठूलो संकट आउने सम्भावना देखिन्छ ।यस्तो मन्दीले हाम्रो दैनिक जीवनमा पक्कै पनि चुनौतीको पहाड थपिदिनेछ । यस्तो मन्दी किन आइरहेको छ र यसबाट हुने नोक्सानीलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा हामीहरूको बीचमा छलफल एवम् विश्लेषण हुनु अति जरुरी देखिएको छ । विद्यमान आर्थिक मन्दी सत्य नजिक भएको कारणहरुलाई पहिचान गर्नु आवश्यक छ ।
मौद्रिक नीति, करनीति, वित्तीय नीति, पर्यटन नीति, वाणिज्य नीतिजस्ता सरकारी नीतिमा भएको समस्याकै कारण आर्थिक मन्दी उफ्रिरहेको छ । अर्थतन्त्रका विभिन्न अवयवहरूमध्ये कुनै वा केही प्रणालीमा अवरोध छ, पहिचान छैन । यसै कारणले नेपालको अर्थतन्त्र गतिशील हुन सकेको छैन । अहिले नेपालको अर्थतन्त्रमा देखा परेको बहुपक्षीय असफलताले आर्थिक असफलता उत्पादन गरिरहेको छ ।
अतः हामीले विश्व अर्थतन्त्रमा आउने उतारचढावलाई यथेष्ट ध्यान दिने, त्यसबाट हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरण गर्ने र आइपर्न सक्ने कठिनाइहरूको सामना गर्दै सुरक्षित अवतरण गर्न वित्त नीति, मौद्रिक नीति तथा अन्य विषय क्षेत्रगत नीतिका उपकरणहरू बुद्धिमत्तापूर्वक उपयोग गर्नु अपरिहार्य छ ।