सिन्धुपाल्चोक, माघ ८ गते ।
स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा हाटबजार सुरु गरिएको छ ।
मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोटले शुक्रबारदेखि थाङपालकोटमा हाटबजार सञ्चालनमा ल्याएको हो ।
प्रत्येक शुक्रबार रैथानेश्वरी मन्दिर बजार केन्द्रमा हाटबजार मेला सुरू गरिएको सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङको भनाइ छ ।
सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङले वडा नं।. ३ मा गत वर्षदेखि नै हाटबजार व्यवस्थापन गरिरहेको छ । हाटबजारले मुद्रा विनिमयसँगसँगै वस्तु विनिमय गरी एकअर्काको सामान साटासाट र खनखाँचो टार्नसमेत सहज बजाउने आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताए ।
वडाध्यक्ष कुलबादुर बस्नेतले आमा दिदीबहिनीले आफ्नै परिश्रमको उत्पादनलाई बजारसम्म पुर्याइ नगद आर्जन गर्न र उपभोक्ताले सस्तोमा स्वच्छ, ताजा अग्र्यानिक उत्पादनको उपभोग गर्न सहज हुने विश्वास व्यक्त गरे ।
आर्सो नेपालले टिजिएचको सहयोगमा रैथानेश्वरीमा निर्माण गरेको यो बजार केन्द्रको अधिकतम् उपयोग भई स्थानीय समुदायको आर्थिक उपार्जनमा थप सहयोग पुग्ने विश्वास संस्थाले लिएको परियोजना संयोजक तामाङले बताउँछन् ।