ध्रुव अधिकारी
वीरगन्ज, माघ १६ गते ।
यस वर्षको ‘गोपाल गोतामे’ स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ धनुषाकी अध्यक्ष मोनिका झालाई प्रदान गरिने भएको छ ।
स्वर्गीय पत्रकार गोपाल गोतामे प्रतिष्ठानको आज वीरगन्जमा सम्पन्न बैठकले अन्नपूर्ण पोस्ट दैनिकको मधेस ब्युरो प्रमुखका रूपमा कार्यरत पत्रकार मोनिका झालाई प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अनुरूप अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष छनौट गरी एक तोला सुनको तक्मा स्वर्ण पदकसहित पुरस्कृत गर्दै आइरहेको छ ।
वीरगन्जका पत्रकार स्व. गोपालचन्द्र गौतमको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार आगामी फागुन २ गते वीरगन्जमा आयोजना हुने कार्यक्रमबिच प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जगदीश प्रसाद शर्माले जानकारी दिनुभयो ।