द पब्लिक टुडे
बर्दिबास, माघ १८ गते ।
महोत्तरीको बर्दिबासमा सवारी साधनको यान्त्रिक तथा चालक परिचालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
बढ्दो दुर्घटनालाई न्यूनिकरण गर्न बुधवार बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष भोला खड्काको अध्यक्षता तथा बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीको प्रमुख आतिथ्यमा एक दिवसिय चालक परिचालकहरुको स्वास्थ्य परिक्षण र यान्त्रिक चेकजाँच सहितको दुर्घटना न्यूनिकरण तथा जनचेतना मुलक कार्यक्रम गरिएको छ ।
बर्दिबासस्थित साई मल्टिस्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीले सवारी चालक र परिचालकको स्वास्थ्य चेकजाँच गरेको हो ।
सवारीको यान्त्रिक तथा चालक र परिचालकको स्वास्थ्य चेकजाँचको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिबास चौकको ट्राफिक व्यवस्थापनका लागि नगरपालिका गम्भिर रहेको बताए । नगरको ट्राफिक व्यवस्थापन गर्न बर्दिबास नगरपालिकाले बस पार्कको अवधारणा ल्याएको पनि उनले जनाए । नगरप्रमुख क्षेत्रीले बर्दिबास चौक र व्यवसायिक क्षेत्रको नजिकमा पर्ने भप्सी खोला किनारमा बस पार्क बनाउने योजना बनाएको उल्लेख गरे ।
यस्तै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथ ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले सवारी दुर्घटनामा दिनहुँ बृद्धि भईरहेको भन्दै चिन्ता व्यक्त गरे । कुनै एउटा निकायले चाहेर सवारी दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताउँदै उनले सबै सरोकारबाला पक्ष सहकार्य र समन्वय गरेर दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास, महोत्तरीका प्रमुख उदय सिंह सिजापतिले दिनप्रतिदिन बढ्दै गईरहेको सवारीसाधनको चाप, अव्यवस्थित पार्किङ र बसपार्कको समस्या ट्राफिक प्रहरीलाई चुनौतीको विषय भएको उल्लेख गरे ।
बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु बहादुर खड्काले बर्दिबासको अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा यातायात सेवा कार्यालय बर्दिबासका प्रमुख राकेश यादव, ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावल, ईलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख सन्देश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।