‘बेलुन प्रकरण चीनलाई बदनाम गर्ने बहाना’

बेइजिङ, माघ २१ गते ।

बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई बदनाम गर्ने चाल भएको बताएका हुन् ।

अमेरिकी सञ्चारमाध्यममा विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै विदेशमन्त्रीको योजनाबद्ध चीन भ्रमण चिनियाँ बेलुनका कारण स्थगन भएको जनाइएको छ । अमेरिकालगायत पश्चिमा मुलुकका सञ्चारमाध्यमले ‘अमेरिकाको जासुसी गर्न चीनले बेलुन अमेरिकी आकाशमा पठाएको’ समाचार शुक्रबार प्रकाशन–प्रसारण गरेका थिए ।

वायुको वेग र बहावका कारण अनपेक्षित रूपमा मानवरहित वायुयान अमेरिकी आकाशमा प्रवेश गरेको स्वीकार गर्दै चीनले त्यससम्बन्धमा अमेरिकी पक्षलाई जानकारी गराएको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । मौसम विज्ञानसम्बन्धी सूचना संकलन गर्न नागरिकस्तरमा उडाइएको उक्त बेलुन वायु बलका कारण काबुबाहिर हुँदा अमेरिकी आकाशमा पुगेको उनले स्पष्ट गरेका छन् ।

चीनले सधैँ अन्तर्राष्ट्रिय कानुनको अक्षरशः पालना गरेको, कुनै पनि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सधैँ सम्मान गरेको, कुनै पनि देशको भू–भाग वा हवाई क्षेत्रको उल्लंघन नगरेको र उल्लंघन गर्ने कुनै नियत नभएको विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट गरेका छन् ।

“संयुक्त राज्य अमेरिकाका केही राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनलाई बदनाम गर्न यसलाई प्रचार गरेका छन्, चिनियाँ पक्ष यसको विरोध गर्दछ,” सबै तहमा सम्पर्क र समन्वय कायम गर्ने चीन र अमेरिकी राष्ट्रपतिबीच पछिल्लोपटक बालीमा भएको सहमति स्मरण गराउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

दुवै पक्षले पारस्परिक सम्बन्धलाई सुव्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले केही अप्रत्यासित परिस्थितिलाई ठन्डा र विवेकपूर्ण तरिकाले व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

बेइजिङ र वासिङटनले अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणबारे औपचारिक घोषणा नै नगरेको परिप्रेक्ष्यमा अमेरिकाले गरेको पछिल्लो घोषणा अमेरिकामा निर्भर रहेको र त्यसलाई चीनले सम्मान गर्ने विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । सिन्ह्वा