काठमाडौँ, माघ २२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहने कि नरहने भन्ने निर्णय गर्न असफल भएको छ।
बिहीबार बेलकी रास्वपाले २ दिनभित्र निर्णय गर्ने समयसीमा दिएकाे थियाे।
तर त्यसपछि शनिबार बेलुकी पार्टी कार्यालय बसुन्धारामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले पनि सरकारबाट बाहिरिने निश्कर्ष निकाल्न सकेन।
बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति चुनाव र उपनिर्वाचनको मिति तय नभएसम्म सरकार छाड्न नहुने मत बलियो भएको छ। ‘आजको बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा सभापतिबाट ब्रिफिङ भयो। कम्तिमा राष्ट्रपति चुनाव र उपनिर्वाचनको मिति तय नभएसम्म सरकारमै रहनपर्छ भन्ने सुझाव छ’, तीन नेताले भने, ‘बहुमतको सरकारमा जाने, सरकारमा गएर अलमिल्यौं। ठूला दलका खेलाडीको अगाडि उभिन सकेनौं।’
यद्यपि आइतबार बिहान साढे ११ बजे फेरि बैठक बस्ने र सो बैठकले प्रधानमन्त्रीले गर्नुभएको प्रस्ताव, उच्चस्तरिय संयन्त्रका संयोजकको सुझावबारे छलफल हुन्छ। बैठकमा उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक पनि नबसेको कारणले हाम्रा चासोका बारेमा कुरा नभएको हुनसक्ने सभापतिले बताएका थिए।
बैठकमा सहभागी एक नेताका अनुसार सभापति रवि लामिछानेले राष्ट्रपति निर्वाचनबारे बाहिर चलेका हल्लाको यथार्थ बुझ्नपर्ने ब्रिफिङ गरेका थिए।
साथै, सरकार बनाउने बेलामा सत्तारुढ दलबीच भएको प्रतिवद्धतालाई बिर्सन नहुने लामिछानेले बताएका थिए। ‘सरकार बनाउने बेलामा गरिएको कमिटमेन्ट सबै पालना गर्नुपर्छ, यताउता जान मिल्दैन।’ बैठकमा रविले भनेका थिए।
प्रधानमन्त्री प्रचण्डलाई शनिबार साँझ भेटेर बैठकमा सहभागी भएका सभापती रवि लामिछानेले पहिला दलभित्र साझा धारणा बनाउने प्रस्ताव गरेका थिए। सरकारबाट तत्काल हट्न नहुने, विवादमा परेकोले सभापतिले सरकारमा जान नहुने आवाज पार्टी भित्रकै नेताबाट उठ्न थालेपछि उनले त्यो रोक्न खोजेका हुन्।
सर्वोच्च अदालतको आदेशपछि सांसद पद गुमाएका लामिछानेले उपनिर्वाचनको मिति नतोकी सरकार छाड्न नहुने पनि बताएका थिए।
‘उप निर्वाचनको मिति नतोकी सरकार छोड्नु हुन्न। राष्ट्रपति चुनावबारे भएको सहमति के हो? त्यसबारे पनि बुझ्नपर्छ।’ रविको भनाई उदृत गर्दै श्रममन्त्री डोलप्रसाद अर्यालले बताए। – नेपालखबर