बर्दिबास खानेपानीको चुनाव : ‘क्रसर गुन्डा’ बिरुद्ध मतदान गरौं

—राजकरण महतो

पानी हाम्रो जीवनको प्राण हो । पानीको मुहान नदी र वन हो । प्यास मेटाउने हो भने पानीको स्रोतलाई संरक्षण गर्नुपर्छ । यो हाम्रो पहिलो कर्तव्य हो । गाईलाई घाँस नदिँदा गाईले किसानलाई दूध नदिए जस्तै हो । तर, बर्दिबासका नेतृत्व तहलाई यसबारे खासै चासो छैन । चुरेका रातु खोला खनेर सखाप पार्ने । वन काटानी गरेर चुरिया वनको जग्गा कब्जा गर्ने । अनि जनतालाई पिउने पानी बाँड्ने ठूला सपना बाँड्ने । यो भनेको खसीको टाउको देखाएर बाख्राको मासु बिक्री गर्ने जस्तै हो ।

सन्दर्भ हो, बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन । फागुन १४ गते यो संस्थाको कार्यसमितिको निर्वाचन हुँदैछ । कोही दलको आड्मा त कोही स्वतन्त्रको नाममा उम्मेदवारी दिएका छन् । उनीहरू मतदाताको घरमा चुनावी नारा लिएर पुगेका छन् । लोकतन्त्रमा चुनावलाई उत्सवका रूपमा लिइन्छ । यो संघीय लोकतान्त्रिक गणतन्त्रको अधारस्तम्भ पनि हो । हिजोआजको चुनाव, चुनाव जस्तो रहेन । डन, माफिया, गुण्डाहरूबीचको प्रतिस्पर्धा बन्न पुगेको हालैको स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनले पुष्टि नै गरिसकेको छ । यो प्रवृत्तिले लोकतन्त्र संस्थागत हुँदैनन् भन्ने बहस भइरहेको छ । कतिले निर्वाचन प्रणाली सुधार गर्नुपर्छ भने कतिले कडा कानुन बनाउनु पर्छ भनिरहेका छन् ।

अब कुरो गरौं, बर्दिबास खानेपानीको निर्वाचनबारे । यो चुनाव चुरे संरक्षण गर्ने र दोहोन गर्नेबीच भइरहेको छ । चुनावमा चुरे दोहन गरेर राजनीति रोटी सेक्नेहरूसँग मतदाता सवाधान हुनुपर्छ भने चुरेसंरक्षण पक्षधरसँग काँधमा काँध जोड्नु पर्छ । व्यक्तिगत नाफाका लागि अबैध क्रसर पोस्नेलाई चिन्नु पर्छ । क्रसर डन र चुरे माफियाहरूको लगानी तथा संरक्षकत्वमा उम्मेदवार भएकाहरूलाई तपाईंले पहिचान गर्नै पर्छ । जो खानेपानी संस्थाका पदाधिकारी बन्न सपना देख्छन् उसले चुरे र रातुखोलाको अबैध उत्खनन् र मापदण्डविपरीत चलिरहेका क्रसर उद्योगमा ताल्चा ठोक्न पहिलो एजेण्डा लिएका पक्षमा उभिनै पर्छ । यसो भन्नुको पछाडि दूधको रक्षक विरालो हुन सक्दैन भन्न खोजेको हो । झण्डै दुई दशकदेखि बर्दिबासका केही राजनीतिक दल र तिनका नेताहरूकै लगानी र संरक्षणमा रातु सभ्याताअन्तर्गत पर्ने रातु खोलाको दोहन भइरहेको घाम जस्तै छर्लङ्ग छ । जुन कुरो जनताको आँखाले देखेका छन् । त्यसको नकारात्मक असर भोगिरहेका छन् ।

चुरे क्षेत्रस्थित तीनवटा मुहानबाट बर्दिबासमा ५ हजार बढी उपभोक्ताले पानी पिइरहेका छन् । बर्दिबासमा आठ वर्षअघि चैत—वैशाखमा मुहान सुकेर खानेपानीको हाहाकार भयो । पानी अभावमा जनताबीच मारामारको अवस्था सिर्जन भएको थियो । ट्यांकरले पानी वितरण गरिएको थियो । पानीको अभाव हुँदा सबैभन्दा बढी पीडा गृहिणी महिलालाई हुँदो रहेछ । जो बिहानदेखि साँझसम्म घर कामकाजमा व्यस्त हुन्छन् । खाना पकाउनेदेखि लुगाफाटो धुन्नेसम्मका काम गर्छन् । पानी हाहाकारले बर्दिबासवासीको दिनचर्या नै फेरिको त्यो दिन अझै बर्दिबासवासीले बिर्सेको छैन । यो परिवेशमा दूरदृष्टि भएका नेतृत्व बर्दिबास खानेपानीले खोजेको हो । जो अहिलेको समस्या मात्रै होइन् दीर्घकालीन रूपमा बर्दिबासवासीलाई पिउने पानी दिने काम गरोस् । जनताले आल्पकालीन समस्याको समाधान खोज्छन् । तर, सचेत र बुद्धिमान नेतृत्वले अल्पकालीन समस्या समाधान गर्छन् । दीर्घकालीन रूपमा समस्या नआउओस् भनेर नयाँ योजना बुन्छन् । यो कसिमा राखेर खानेपानीको नेतृत्वका लागि युवा तथा अनुभवी नेतृत्व चयन गर्नुपर्छ ।

बर्दिबास सहर उन्मूख बन्दै गएको छ । दश वर्ष अघिको बर्दिबासभन्दा आजको बर्दिबासको अवस्था र व्यवस्थामा पक्कै पनि फरक छ । हिजो बर्दिबास गाविस रहेको ठाउँ अहिले बर्दिबास नगरपालिकाको नामले चिनिएको छ । अबको पाँच वर्षपछि बर्दिबास उपमहानगरपालिका बन्ने प्रवल सम्भावना छ । तीव्र सहरीकरणको दिसामा अघि बढेको यो ठाउँमा खानेपानी संस्थाको महत्व अझै बढ्दो छ । अहिले पनि बर्दिबासका सबै क्षेत्रमा सहजै पिउने पानी पाइँदैन । चुरे दोहनले यो अभावलाई अझै बढाउँदै लैजाने छ । यस्तै रह्यो भने बर्दिबासवासीलाई काकाकूल बनाउने दिन नजिकिँदो छ ।

बर्दिबास शैक्षिक हबसँगै व्यापारिक नगरीको रूपमा विकसित हुँदै गएको छ । झन् मेची—महाकाली र जयनगर—जनकपुर—बर्दिबास रेल्वे स्टेसनको ठाउँ पनि बर्दिबास बन्दै छ । निकट भविष्यमा यहाँ रेल्व स्टेसनले राजमार्गभन्दा दक्षिण छुट्टै व्यापारिक गाउँ बनाउँदै छ । त्यस वरिपरि कलकारखाना र बजारको विकास हुने छ । नयाँ सहर निर्माण हुँदा नयाँ खानेपानी योजनाका बारेमा पनि काम गर्नुपर्छ । यसका पक्षमा काम गर्ने ऊर्जावान नेतृत्वको खाँचो छ, बर्दिबास खानेपानीलाई ।

तीव्र सहरीकरणसँगै व्यवस्थित ढलको पनि आवश्यकता बर्दिबासले महसुस गर्दैछन् । ढलसँगै व्यवस्थित खानेपानी पाइपको बिस्तार गर्नु पनि अति नै आवश्यक छ । सुन्दर सहरका लागि व्यवस्थित खानेपानी योजना र ढल व्यवस्थान पहिलो सर्त हो । एउटाले सडक बनाउने अर्कोले खनेर खानेपानीको पाइप बिस्तार गर्ने प्रवृत्तिले बर्दिबास खानेपानी संस्थाले बर्सेनि क्षति व्योहोर्दै आएको छ । यसले खानेपानी वितरणलाई गतिहीन बनाउँदै आएको छ । खानेपानीका कर्मचारीहरूको अधिक समय खानेपानीको लाइन सुचारुमै बित्ने गरेको छ । त्यसैले बर्दिबास खानेपानीले अब बिस्तृत अध्ययन गरेर सकडको दुवैतिर नयाँ खानेपानीको पाइप बिस्तारका लागि सबै तहका सरकारसंग योजना अनुसार काम अगाडि बढाउनु पर्छ । यसका लागि सडक गुरुयोजना पहिलो प्राथमिकता पर्दछ । अबका नेतृत्वले यस पक्षमा काम गर्ने चाहिन्छ ।

बर्दिबासमा रिक्सा र ठेला चलाएर जीवन बाँच्नेहरू पनि छन् । कोही घर बसिबसी बासमती चामलको भात र रहरको दाल चाख्नेहरू पनि छन् । तर, खानेपानीको महसुल गरिव र धनी दुवैलाई बराबर छ । यसले धनी हुनेहरू झन्–झ्न धनी हुँदै जाने र गरिबहरू झन् –झन् गरिब हुँदै जाने अवस्था आउँछ । खानेपानी समितिले लोककल्याणकारी राज्यको अभास अझै गराउन सकेको छैन । देशमा तन्त्र फेरियो तर, बर्दिबास खानेपानीको महसुल उठाउने रणनीति हेर्दा गरिबहरूलाई अझै रैतीकै अवस्थामा रहेको भान हुन्छ । महँगो दरको पानीको महसुल तिर्न नसक्दैन गरिब, सुकुम्बासी, दलितको घरमा अझै गणतन्त्र पुगेको छैन । हुनेसँग लिएर नहुनेलाई दिने लोककल्याणकारी राज्यको अभास गराउने नेतृत्व बर्दिबास खानेपानीले खोजेको छ ।

बर्दिबास खानेपानीमा मात्रै होइन् बर्दिबासका सबै संघ,संस्थामा पार्टीगत गुट हावी भएको देखिन्छ । यसले संघसंस्थाको विकास र मर्ममा अघात पुर्याएको छ । हामी बहुदलीय व्यवस्थाका पक्षधर हौं । सबैले राजनीतिक पार्टी खोल्न पाउनुपर्छ । विचार र सिद्धान्त मन पर्ने पार्टीमा बसेर राजनीति गर्न पाउने संविधानले नै व्यवस्था गरेको छ । तर, राजनीतिको नाममा संस्थामा गुट खडा गरेर संस्थालाई बन्धक बनाउने र लुट मचाउने प्रवृत्ति हावी भएको छ । यो रोगले पछिल्लो समय बर्दिबासका संघसंस्थाहरू थलिँदै गएका छन् । एकथरीले स्वतन्त्रको खोल ओडेर पार्टीको गुट चलाइरहेको बारे अब भन्नु पर्दैन । यो प्रवृत्तिलाई बर्दिबासवासीले चिनिनै सके । यो गुट अब बर्दिबासमा ओरालोको यात्रामा पुगेको छ । यसलाई विघटनको बाटोबाट भगवान्ले पनि बचाउन सक्दैन । स्वतन्त्रको नाममा भइरहेको विचार र सिद्धान्तविहीन राजनीति छेपारो प्रवृत्तिभन्दा कम छैन । यस्ता प्रवृत्तिका उम्मेदवारलाई चिन्नु पर्छ । अर्कोथरी पार्टीको नाममा ‘मै हुँ’ भन्नेहरूको घमण्डको नौ तल्ले धरहरा ढलेको ढलैछ । त्यसैले जनताको पक्षमा काम गर्नेहरू नै खानेपानीको चुनावी परीक्षामा पास हुने छन् ।

बर्दिबास खानेपानीको नेतृत्वमा पुग्ने प्रमुख दुई कारण छन् । एक हुन्, जनताको सेवा गर्न । दोस्रो हुन्, आफू अनुकूलका काम गरेर व्यपार गर्ने । यीबाहेक अर्को कुनै उद्देश्य हुन सक्दैन । हरपल जनताको सेवामा खटिने पात्रको पक्षमा मतदाता उभिनु पर्छ । उनीहरूलाई साथ दिए मात्रै सधैं खानेपानी पिउन सकिन्छ । दोस्रो पात्रलाई रोज्दा उसको घरमा मिनर्लवाटरबाट खाना पाक्ने छन् । तपाईको धारामा पानीको थोपो नर्झन सक्छ । त्यसैले चनाखो भएर मतदाताले जिम्मेवार नेतृत्व छनौट गर्नुपर्छ ।

अन्तमा, बर्दिबास सामाजिक सद्भावको लोभ लाग्दो हिमाल हो । मधेसी—पहाडीको यो सगरमाथारूपी सामाजिक आधारस्तम्भ आधारहरू हाम्रो बर्दिबासको गौरव हुन् । यहाँका संघसंस्था, थरीथरीका जातजाति र उनीहरूका सद्भावयुक्त विचार र कार्मले मात्रै बर्दिबास विकसित बन्दछ । जसले बर्दिबासवासीलाई दिन मात्रै जान्दछ । त्यो नेतृत्व बर्दिबासको विकासको पक्षधर ठानिन्छ । जो नेतृत्वमा पुगेर फाइदा लिइन्छ, त्यो पात्र समाजसेवी होइन्, व्यापारी हुन् । पछिल्लो समय सारा समाजले लडेर ल्याएको उपलब्धिलाई निजीकरण, व्यापारीकरण गरेको पाइन्छ । ‘यो सबै काम मैले मात्रै गरेको हुँ’ भन्दै ब्राण्डिङ्ग गर्नेहरूसँग मतदाता सर्तक हुनुपर्छ । ‘म बाहेक कोही छैन’ भन्ने प्रवृत्तिले बर्दिबासका संघ—संस्थामा सामूहिकता मर्दै गएको छ । व्यक्तिवादी सोच हावी भएको छ । यो प्रवृत्तिको सिकारले बर्दिबासका संघसंस्थाहरू कोममा पुगेको प्रशस्त उदाहरण देख्न सकिन्छ । त्यसैले बर्दिबास खानेपानीको चुनावमा बर्दिबासलाई नेतृत्व गर्ने साझा पात्र रोजौं ।