काठमाडाैं, फागुन २१ गते ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्ध हाँकेका माओवादीहरुलाई हत्यारा ठहर गर्नेहरुलाई ठेगान लगाउन सक्ने बताएका छन्।
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा गरेको अन्तरक्रिया कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
‘माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई हामी ठेगान लाउन सक्छौँ’, उनले भने, ‘२ सय वर्षसम्म नेपालीलाई चुसेर अर्बौँ सम्पत्ति थुपार्नेहरु अपराधी हुन् कि जनताको अधिकारका लागि लड्नेहरु अपराधी? हेक्का राखे हुन्छ।’
उनले अहिले आफूहरुलाई अपराधी बनाउन खोजिने गरी व्याख्या गर्नेहरुलाई जनयुद्धमा भेटेको भए त्यहीँ सिद्याइदिने पनि उल्लेख गरे।
‘यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजिँदैछ। इतिहास फेरि दोहोरिन सक्छ हेक्का राखे हुन्छ’, उनले भने, ‘इतिहास दोहोरिने बेला हुँदैछ। फेरि जनताको आशामा इतिहास दोहोरिन सक्छ। माओवादीहरु एक हुन सक्छन्, फेरि जनक्रान्ति हुन सक्छ।’