होली रङहरूको उत्सव हो । तर, होलीमा रङको सही प्रयोग नभए यसको असर दीर्घकालसम्म देखिन सक्छ । विभिन्न खाले रङले छालामा गर्ने असर र त्यसको दीर्घकालीन प्रभावबारे छालारोग एसोसिएसनकी अध्यक्ष डा. सविना भट्टराईसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको यो सामग्री ।
बजारमा पाइने सामान्य रङमा के मिसावट हुन्छ ?
सामान्यतया रातो रङ जसलाई अबिरको रूपमा पूजाकर्ममा पनि धेरै प्रयोग गरिन्छ । सामान्यखाले अबिरमा मर्करीको मात्रा धेरै हुन्छ । साथै सल्फाइडको मिसावट गरिएको हुन्छ, यसको अधिक प्रयोगले छाला हुँदै कलेजो र किड्नीसम्म पनि असर गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
निलो रङमा भने प्रुसियन ब्लू नामक रसायन मिसाइएको हुन्छ । त्यस्तै, हरियो रङमा कपरको मात्रा धेरै हुन्छ । जुन छालामात्रै नभई कपाल र नङका लागि पनि उत्तिकै हानिकारक हुनजान्छ । सिल्भर रङमा आल्मुनियमको मात्रा धेरै हुन्छ, यसले छालाको पत्रलाई सुख्खा बनाएर भित्रैसम्म एलर्जी गराउन सक्छ ।
खासगरी रातो, हरियो र चम्किला रङहरूले छालामा स्थायी समस्या ल्याउन सक्छन् । त्यस्तै, नङ पाक्ने, रगतसम्म पुगेर शरीरभरि फैलिएर विभिन्न अंगमा असर गर्नेजस्ता दीर्घकालीन असरहरू यी रङले ल्याउन सक्छन् । कतिपय मानिसमा यस्ता रङ नै छालाको क्यान्सरको कारण बनेका उदाहरण पनि छन् ।
को कसले रङ नखेल्ने ?
गर्भवती र पाँच वर्षभन्दा मुनिका बालबालिकालाई रङको प्रयो गरेर होली नखेल्न डा. भट्टराईको सुझाव छ । पाँच वर्षमुनिका बालबालिकाको छाला एकदमै कोमल हुने भएकाले उनीहरूलाई रङको प्रयोगले छालाको पत्र जाने घाउ हुनेजस्ता समस्या देखिनसक्छ ।
त्यस्तै, गर्भवती अवस्थामा प्रयोग गरिएको रसायनयुक्त रङले पेटभित्रको शिशुलाई समेत असर पुर्याउने डा भट्टराई बताउँछिन् ।
अनुहारमा रङ लगाइएमा कति बेरसम्म राख्ने ?
पहिले नै छालासम्बन्धी समस्या भएकाहरूले रङको प्रयोग गर्दै नगर्ने । सामान्य छाला भएकाहरूले पनि रङ लगाएम बढीमा १५ देखि २० मिनेटभन्दा धेरैबेर राख्न हुँदैन । अनुहारमा भएको असर त्यही दिन मात्रै नभई एक साताभित्रसम्म पनि देखिन सक्छ ।
छालामा लगाइएको रङ कसरी सफा गर्ने ?
यदि अनुहार वा अन्य छालामा रङ कडा भएर बसेको छ भने त्यसलाई बेस्सरी माडेर धुनुहुँदैन । कडा साबुन, फेस वास या अन्य वस्तुले रगडेर धुँँदा छालाका बाहिरी पत्र जाने सम्भावना हुन्छ । त्यसैले अनुहारको रङ सफ गर्न बच्चाको साबुन, स्याम्पु, कोमल खालको फेसवास प्रयोग गर्नुपछ । बरु एकपटकमा नगए पटकपटक गरी धुनु राम्रो हुन्छ ।
होलीपछिको छाला स्वास्थ्य कस्तो पाइएको छ ?
होलीपछि प्रत्येक वर्षजसो ओपीडीमा छालाको समस्या लिएर आउने बिरामी बढ्ने गरेका छन् । विशेषगरी अुनहारमा एलर्जी आएका, अनुहार सुन्निएका, नङ पाकेका, हात तथा मुखको छाला सुख्खा भएर धेरै बिरामीहरू आउँछन् । यसरी होलीको एक हप्तासम्म छालाका बिरामी धेरै आउने गर्छन भने केही बिरामीहरू रङकै कारण पछिसम्मै पनि औषधि प्रयोग गर्नुपर्ने अवस्थामा पनि पुगेका छन् ।