काठमाडौँ, फागुन २२ गते ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित भएर खाली हुने निर्वाचन क्षेत्र र चितवन- २ मा एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
आइतबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन निर्वाचन क्षेत्र नम्बर २ र राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित सांसदको रिक्त रहेको पदका लागि एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको जानकारी दिए ।
‘आगामी फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त भएपछि खाली हुने निर्वाचन क्षेत्र र चितवन- २ मा एकैपटक उपनिर्वाचन गर्ने तयारी आयोग गरिरहेको छ,’ उनले भने, ‘तीनवटा निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्दा थप निर्वाचन सामग्री खरिद गर्नुपर्दैन । मतपत्र छपाइ र कर्मचारीलगायत लागि एक निर्वाचन क्षेत्रमा करिब दुई करोड खर्च हुने अनुमान गरेका छौं ।’
यसअघि आयोगले चितवन – २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।