नारी दिवसमा महिला दौड

दमौली, फागुन २२ गते ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा व्यास नगरपालिकाको आयोजनामा महिला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।

खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्यसहित व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्म फागुन २४ गते महिला हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता सञ्चालनका लागि उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको उनले बताए । गत वर्ष आयोजित महिला म्याराथनमा ४४ धावक सहभागी थिए ।

महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन महिला हाफ प्रतियोगिता आयोजना गरिएको उपप्रमुख दरैले बताईन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ७९, द्वितीय हुनेलाई ३१ हजार ७९, तृतीय हुनेलाई रु २१ हजार ७९ र सान्त्वना हुने तीन जनालाई जनही ११ हजार ७९ का दरले पुरस्कार वितरण गरिनेछ ।

गत वर्ष आयोजित प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ७८, द्वितीय हुनेलाई रु ३१ हजार ७८, तृतीय हुनेलाई २१ हजार ७८ र सान्त्वना हुने पाँच जनालाई ११ हजार ७८ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा सहभागी हुन चाहनेले फागुन २३ गते दिउँसो १ बजेसम्म नाम दर्ता गराउनुपर्ने नगरपालिकाका शिक्षा शाखा अधिकृत नवीन पराजुलीले जानकारी दिनुभयो । नाम दर्ता गरेका धावकलाई सोही दिन दिउँसो २ बजे अभिमुखीकरण गराइनेछ ।

व्यास गुफादेखि अनशन चौतारी, दुर्गा मन्दिर, भोर्लेटार चोक, गणेशमान चोक, वन कार्यालय, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, बाराहीरानी मार्गको रानी गाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यार चोक, चण्डिथान, गद्दीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरबारसम्म दौड हुनेछ । उक्त दूरी २१ किमीको रहनेछ ।

“धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलका रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्न लागेका हौँ”, उपप्रमुख दरैले भनिन् ।

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार