चैते धानखेती खडेरीले घट्दै

उदयपुर, फागुन २२ गते ।

उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक खडेरीले कमी आउने भएको छ ।

हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाले चैते धान रोपाइँमा प्रभाव परेको मुर्कुचीका कृषक दिलबहादुर रिखाम मगर बताउँछन् ।

कटारी नगरपालिकाको रिस्कु, सोमबारे तथा मरुवा क्षेत्रमा पनि चैते धानखेती घटेको कटारी रिस्कुका दमन दनुवारले बताए । रिस्कु क्षेत्रका साना खोलानालामा खडेरीले पानीको स्रोत नै सुक्दै जान थालेकाले धान रोप्ने काम नै गर्न नसकेको दनुवारले बताए ।

उदयपुरगढी गाउँपालिकाको दनुवार बेँसी, बर्रे, भलायाडाँडा कालीखोला क्षेत्रमा भने मुश्कीलले यसपटक चैते धानखेती गरेको बर्रेका हीराबहादुर अधिकारीले बताए ।

लिम्चुङबुङ गाउँपालिकाको जाँते, बासबोटे, ताम्लीछा र छताङ क्षेत्रका खेतमा पनि सिमसार क्षेत्र र खोलाका पानी सुक्दै जान थालेपछि थोरै कृषकले मात्र चैते धानखेती गरेको जाँतेका बृध्वज बुढाथोकीले बताए ।

जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र चिलाउने क्षेत्रमा पनि गत वर्षजस्तो अधिकांश खेतमा चैते धानखेती गर्न नसकिएको खाँबुका कृषक देवराज तिमसिना बताउँछन् ।

जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार उदयपुर जिल्लामा बर्सेनी एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदै आएको छ । खडेरीले पानीको स्रोत घट्दा चैते धानखेती गर्न समस्या भएको हुनसक्ने कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले बताए ।

ज्ञानकेन्द्रका अनुसार २०६० सालभन्दा पहिला उदयपुरमा दुई हजार हेक्टर क्षेत्रफलमा उक्त धानखेती हुन्थ्यो । गाउँघरका युवाहरुले गाउँ छाड्ने, विदेश पलायन हुने, गाउँमा जनशक्ति अभाव तथा खडेरीले विगतको तुलनामा धानखेती कम हुँदै गएको जनाइएको छ ।