‘युवाको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन जरुरी छ’

 

—मनोज कुमार महतो

युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् । जबसम्म विकासको मूल प्रवाहमा युवालाई प्रत्यक्ष सहभागी गराउन सकिँदैन, तबसम्म मुलुक समृद्धिको दिशामा कदापी अघि बढ्न सक्दैन ।

देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन र रुपान्तरणका अग्रदूत युवा नै हो तर नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेका युवालाई परिचालन गर्ने राज्यको स्पष्ट कार्यनीति र कार्यक्रमको अभावमा युवा वैदेशिक रोजगारीका लागि खाँडी मुलुक जान विवश छन् । कतिपय युवा देशमै रोजगार नपाएर कुलत तथा लागुऔषधको दुव्र्यसनमा फसेका छन् । हरेक महत्वपूर्ण परिवर्तनमा मुख्य भूमिका निर्वाह गरेका युवाको सर्वाङ्गीण विकासमा राज्य जिम्मेवार हुन सकेको छैन ।

वि.सं २०६६ सालमा युवालाई लक्षित गरी राष्ट्रिय युवा नीति निर्माण गरेको देखिन्छ । तर, त्यसमा विभिन्न कमजोरी रहेकाले त्यसले युवावर्गलाई समेत छुन सकेको छैन । केही अपवादलाई छाडेर अन्यलाई हेर्ने हो भने युवावर्ग विकासमा भन्दा पनि विनाशमा लागेको देखिन्छ । लागूपदार्थको दुव्र्यसनी, लुटपाट, चोरीडकैती, बलात्कार, हत्याहिंसाजस्ता कार्यमा संलग्न हुनु दुःखद सवाल हो । युवा बेरोजगारी, सामाजिक, मनोेवैज्ञानिकलगायत समस्याका कारण हजारौंको संख्यामा शिक्षित युवावर्ग अवसरको खोजीमा विदेश पलायन भएका कारण नेपालमा प्रतिभा पलायनको क्रमसमेत बढेर गएको छ ।

राज्यले युवा शक्तिलाई रचनात्मक रूपमा राष्ट्र निर्माण एवं देश विकासमा लगाउन सके देशको मुहार फेरिन सक्छ । तर देशको भविस्य र विकासका सम्बाहक युवाहरुलाई राज्यद्वारा अपेक्षित गर्दै कार्य क्षमता अनुसारको रोजगारको व्यवस्थापनमा राज्री चुक्दै जाँदा युवाहरु पारिवारिक र आर्थिक सन्कट झेल्दाझेल्दै मानसिक तनाव र डिप्रेशनमा परी लागुऔषध दुव्र्यसनमा फस्न पुग्छन । यदि परिवारको कुनै एकजना कुलतमा फस्यो भने समाजले उसलाई अर्कै दृष्टिले हेर्छ । त्यसले सिंगो परिवारमा अनावस्यक तनाव पैदा हुन्छ । गाउँमा कुनै घटना भयो भने सबभन्दा पहिले दुव्र्यसनीकै परिवारमाथि शंका गरिन्छ । एकजनाको कारणले गर्दा पुरै परिवार तनावमा पर्छन् । पछि त परिवारै बिखर्ने जोखिमपुर्ण अबस्थामा पुग्ने सम्भावना अधिक हुन्छ । वर्तमान अवस्थामा लागूऔषधसहित मान्छे पक्राउ नपर्ने कुनै दिन हुँदैन । पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने दैनिक सरदर तीनजना लागूऔषध ओसारपसार, बिक्रीवितरण र सेवनमा पक्राउ पर्ने गरेका छन् ।

नेपाल–भारत खुल्ला सीमाको कारण लागुऔषध कारोबार र सेवन गर्नेको संख्या बढेको देखिन्छ । सीमा पारीबाट लागुपदार्थ ल्याएर कारोबार र सेवन गर्ने र गराउने प्रवृत्तिका कारण तराई–मधेशमा लागुऔषध प्रयोगकर्ताको संख्या अप्रत्याशित रुपले बढदै सडक दुर्घटना, चोरी, लुटपाट, घरेलु हिंसा, बलात्कार, अपहरण जस्ता घटना पनि दिनानुदिन बढदै गईरहेको छ । बढ्दो लागुऔषध ओसारपसार, बेचबिखन र दुव्र्यसन नियन्त्रण गर्न गम्भीरतापूर्वक सम्बन्धित सबैपक्ष मिलेर नलागेसम्म यसको नियन्त्रण सम्भव देखिदैन । यसका लागि सबै तहका सरकारदेखि संघ–संस्था र समाजसम्म लागेर एउटा अभियान नै चलाउनुपर्ने देखिन्छ ।

साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ । नेपालका हरेक राजनीतिक परिवर्तन, लोकतन्त्रको स्थापना र अन्य सामाजिक आन्दोलनहरूमा युवाको महत्वपूर्ण योगदान रही आएको छ । विक्रम संवत् २०६२÷०६३ को शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र द्वन्द्व, मधेश, थरूहट, जनजाति र छुवाछूत विरुद्धको मुक्ति आन्दोलनलगायतका आस्था र पहिचानका आन्दोलनहरूबाट युवाको विद्यमान अवस्थालाई विशेष रूपमा सम्बोधन गर्नुपर्ने माग उजागर भएकाले युवासम्बन्धी नीतिको आवश्यकता बढ्न गएको छ ।

गुणात्मक र सङ्ख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी छ ।

Scroll to Top