चितवन, चैत १ गते ।
चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधका कार्यक्रम सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका गरी दुई सय जना हाराहारी मतदाताको नामावली काटिने छ ।”
चितवन क्षेत्र नं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् ।
कार्यालयले जाँचबुझपछि नामावली पठाउन लागेको हो । अन्तिम नामावली भने चैत १५ मा प्रकाशन हुने उहाँले बताउनुभयो ।
मतदाता नामावली प्रकाशनसँगै चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
चैत २० मा उम्मेदवारी दर्ता, चैत २१ मा उम्मेदवारविरुद्ध दाबी विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो ।रासस