नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल

काठमाडौँ, भाद्र ३० गते ।

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभामा उनले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताए ।

नेम्वाङप्रति देखिएको सद्भाव र उनको अवसानपछि देखिएको सहानुभूतिले उहाँले सार्थक जीवन जिएको महासचिव पोखरेलले बताए । संविधानसभाबाट संविधान जारी गराउने विषयमा नेम्वाङले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उनले बताए ।

“एमालेले राष्ट्रलाई जोड्ने कुरामा जुन प्रकारले सफलता हासिल गर्‍यो, त्यसको श्रेय सुवासचन्द्र नेम्वाङको पनि रहेको छ”, पोखरेलले भन्ने, “माओवादी शान्ति प्रक्रियामा आएपछि संविधान निर्माण र कार्यान्वयनमा नेम्वाङले खेल्नुभएको भूमिका अविस्मरणीय छ ।”

नेम्वाङ संसदीय मामिलाको सबैभन्दा बढी मर्म बुझेको व्यक्ति भएको उल्लेख गर्दै नेम्वाङ एमालेको नेतामात्र होइन संवैधानिक र कानुनी सल्लाहकारका रूपमा पनि रहेको उनले बताए । नेम्वाङप्रति सम्मान गर्ने हो भने उहाँको भावना बुझ्नुपर्नेमा उहाँले जोड दिए ।

सभामा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, डा विजय सुब्बालगायत नेताहरुले नेम्वाङको योगदानलाई बिर्सन नसकिने बताएको थियो । रासस