रामबाबु यादव
गौशाला, असोज ६ गते ।
महोत्तरीको सोनमा गाउँपालिकामा शिक्षक सरूवा विषयलाई लिएर भएको आन्दोलनमा पक्राउ परेको सातजना पूर्पक्षका लागि जेल चलान भएका छन् ।
पक्राउ गरेका मध्ये महोत्तरी जिल्ला अदालतले ६ जनालाई पुर्पक्षमा राखी मुद्दा चलाउने र १ जनालाई धरौटीमा रिहा गर्ने आदेश गरेकोे थियो । अदालत एकजनालाई धरौटीमा छाड्न आदेश गरेपनि धरौटी रकम बुझाउन नसक्दा पूर्पक्षका लागि जेल चलान भएको जनाइएको छ ।
महोत्तरी जिल्ला अदालतका न्यायाधीश पुर्व ढकालको इजलासले सोनमा गाउँपालिका–१ बस्ने उपेन्द्र कुमार साह सुडी, रकेश कुमार महरा, नजामुदिन अन्सारी, महेश कुमार यादव, रामकेवल यादव र सोही गाउँपालिका वडा नम्बर २ बस्ने ललिन्द्र यादवलाई पुर्पक्षमा राखी मुद्दा चलाउन आदेश गरेको महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी महेन्द्र झाले जानकारी दिए ।

सूचना अधिकार झाले दिएको जानकारी अनुसार सोही मुद्दामा रामप्रसाद पासमानलाई १ लाख ५० हजार धरौटी राखी छाड्ने आदेश भएपनि धरौटी रकम जम्मा गर्न नसक्दा पासमानलाई पनि जेल पठाइएको बताए ।
यता, सोही मुद्दामा पूर्व गाउँपालिका अध्यक्ष राजकुमार यादव, वडा नम्बर १ का वडाध्यक्ष अशोक यादव र सोही वडाका शैलेन्द्र यादव फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । फरार रहेका उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

गत भदौ १९ गते तीनजना शिक्षक सरुवाको विषयलाई लिएर सरस्वती माध्यमिक विद्यालय सोनमाका विद्यार्थीहरूले गाउँपालिकाविरुद्ध प्रदर्शन गरेका थिए । त्यसैक्रममा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले कार्यालयअगाडि राखिएको प्र २–०३–०१९ प ९१५८ नम्बरको मोटरसाइकल र ज.११प ४९६६ नम्बरको मोटरसाइकलमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको गरेको समाचार आजको द पब्लिक टुडे दैनिक पत्रिका प्रकाशित छ ।
