उपेन्द्रलाई प्रधानमन्त्रीको प्रस्ताव आए जसपाले स्वीकार्छ : प्रवक्ता सुमन

 

द पब्लिक टुडे
गौशाला, कार्तिक ३० गते ।

जनता समाजवादीका प्रवक्ता मनिष सुमनले प्रधानमन्त्रीको अफर आए जसपाले स्वीकार गर्ने बताएका छन् । एमालेसँग मिलेर सत्ता समीकरण फेरबदल गर्ने खेलमा लागेको हो भन्ने प्रश्नमा उनले उक्त कुरा बताएका हुन् । मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने सौभाग्य पाए देशमा समानताको अर्को परिभाषा हुने उनले बताए ।

‘साँच्चै कुरा गर्दा एकजना मधेसी प्रधानमन्त्री बन्यो भने देशमा समानताको अर्को परिभाषा हुन्छ । भित्रैबाट बुम हुन्छ । एकजना नेपाली अमेरिकामा गएर स्याटालाइटमा पुग्यो भने हामी त्यतिकै बुम हुन्छौं । अस्ति नेपालीले क्रिकेट खेलेर जित्दा हामी त्यतिकै बुम भयौं । त्यसैले उपेन्द्र यादव प्रधामन्त्री बन्न पाएमा मधेशी समुदाय आफैँमा बुम हुन्छ । त्यस्तो सौभाग्य पाए किन नकारौंला’, उनले भने ।

तर जनता समाजवादीलाई त्यसमा कुनै हतार नभएको र अहिले एमालेबाट त्यस्तो कुनै अफर आएको आफूलाई नलागेको उनले बताए । यस्तै चुनावअघि कांग्रेस–माओवादीले बेमानी गरेकाले गठबन्धन तोडेको उनले जिकिर गरे । ‘त्यतिबेला राजनीति चित्रण गर्दा एकीकृत समाजवादीलाई लिए हुन्छ । विचरा उसलाई राष्ट्रिय पाटी बन्नै दिएन’, उनले भने, ‘हामीले कुरा बुझ्यौ तत्काल गठबन्धन छाड्यौं । त्यतिबेला एक्लै लड्ने वातावरण नभएकाले एमाले रोजेका हौं ।’

सत्ता पक्षको एक वरिष्ठ नेताले विपक्षी दलको नेतासँग भेटघाट गर्नु सुन्दर पक्ष भएको उनको भनाइ छ । प्रजातान्त्रिक मुलुक भारतमा प्रधानमन्त्री र राहुल गान्धीबीचमा तीन वर्षसम्म भेट नभएको भन्दै नेपालमा सत्ता पक्षका नेताहरूले विपक्षी दलका नेताहरूसँग भेट गर्नु राम्रो पक्ष भएको उनले बताए । रातोपाटी

Scroll to Top