हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्रीको अपिल

काठमाडौँ, मंसिर १६ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल बचाउनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मानवजातिलाई बचाउन हिमाल जोगाउनुपर्नेमा जोड दिए । हिमाल बचाऔँ अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने उनले उल्लेख गरे ।

शनिबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ९कोप–२८० मा उच्चस्तरीय ‘राउन्डटेबल’ बैठकको अध्यक्षता गर्दै उनले हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका हुन् । उनले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

उनले भने, “हाम्रा हिमालहरू बचाउनुहोस्, आफूलाई बचाउनुहोस् । हामीलाई बचाउन हाम्रा हिमालहरू बचाऔँ । हिमाली क्षेत्रका बासिन्दाको पीडा बुझ्न, सम्भावित समाधान खोज्न र समस्या बाहिर ल्याउन हिमाल र जलवायु परिवर्तनसम्बन्धी संवादको थालनी गर्न पनि हिमाली मुलुक नेपालको तर्फबाट दृढतापूर्वक सुझाव दिन चाहन्छु ।”

उनले विश्वका नेताहरूले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यकता औँल्याए । जलवायु परिवर्तनका कारण परेको असर न्यूनीकरणका निम्ति विगतमा गरिएका निर्णय तथा प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्ने पनि उनले स्पष्ट पारे । एजेन्सी