द पब्लिक टुडे
गौशाला, पुस ११ गते ।
यसवर्षको सुरुमा भूषण कुमार, अनुराग बसु र कार्तिक आर्यनले ‘आशिकी’ फिल्मको तेस्रो श्रृंखलाको लागि सहकार्य गर्ने घोषणा गरेका थिए ।
तीनैजनाले फिल्मको घोषणा गर्दै बलिउडमा कौतुहलता सिर्जना गरे । भूषण कुमार र अनुराग बसु दुवैले संगीतमय प्रेमकथामा बन्ने यो फिल्मलाई पुनः दर्शकमाझ ल्याउन एक अद्वितीय सङ्गीत स्कोर सिर्जना गर्न लागिरहेको जनाएका छन् ।
यो फिल्मबारे अब नयाँ खबर छ । फिल्ममा कार्तिक आर्यनको अपोजिटमा ‘एनिमल’ फेम्ड अभिनेत्री तृप्ती डिम्रीले रोमान्स गर्ने पक्का भएको छ । निर्माताले आर्यनको अपोजिटमा डिम्रीलाई कास्ट गरिएको जनाएका छन् । ‘एनिमल’ रिलिजपछि तृप्तीलाई भारतमा ‘नेसनल क्रस’को रुपमा चिनाइएको छ ।
‘एनिमल’को ऐतिहासिक सफलतापछि तृप्ती यतिबेला चर्चाको विषय बनेकी छन् । अब ठूलो पर्दामा पनि उनले कार्तिक आर्यनसँग रोमान्स गरेर चर्चा बटुल्ने पक्का छ ।
अनुराग बसुले निर्देशित गर्ने यो फिल्म सन् २०२४ को पहिलो चौमासिकदेखि छायांकनमा जाने बताइएको छ । चाखलाग्दो कुरा के छ भने, ‘भुल भुलैया’पछि कार्तिक आर्यनको लागि यो दोस्रो फ्रेन्चाइजी फिल्म हुनेछ र अभिनेता पनि ‘आशिकी’मा रोमान्सको गहन संसार अन्वेषण गर्न उत्साहित छन् ।