अबैध कल सेन्टर संचालन गर्ने दुई चिनियाँ पक्राउ

File Photo

बिरगञ्ज, चैत १८ गते ।

वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाको वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो । 

कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । सो घरबाट दर्जनौं संख्यामा अवैध कम्प्युट लगायतका इलेक्ट्राँनिक्स सामानहरु समेत बरामद भएको बताउदै डिएसपी थापाले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एपसपी) कुमोध ढुंगेल नेतृत्वमा नै खटिएको प्रहरी टोलीले सो घरमा छापामारी गरेको थियो । प्रहरीका अनुसार चिनिया गिरोहले भाडामा घर लिएर कल सेन्टर संचालन गरेर अवैध रूपमा कारोबार गर्दै आएका थिए ।

प्राप्त जानकारी अनुसार नन्दु राउत कुर्मीको घरमा दुई महिना पहिला हेटौंडाकी एक महिलाले घर भाडा लिएकी ‍थिइन । सोही घरमा चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको अवैध धन्दाको गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ गरेकाहरुको नाम अहिले खुलाएको छैन् । पक्राउ परेका र बरामद सामानहरु बारे आइतबार बिस्तृत रुपमा जानकारी गराइनले पर्सा प्रहरी प्रवक्ता थापाले बताए ।