स्वास्थ्य परिक्षण शिविरमा २४० जनाले लिए सेवा

निरुता चौधरी
गौशाला, जेठ २५ गते ।

धनुषाको धारापनीमा शुक्रवार निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

जन जन्नी बचत तथा ऋण सहकारी संस्था लि. धारापानीको आयोजना र शुभ स्वस्तिक हस्पिटल प्रा.लि. बर्दिबासको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको छ ।

शिविरमा स्त्री रोग, हाड तथा नसा रोग, दन्त रोग, जेनरल स्वास्थ्य र जेनरल सर्जरी सम्वन्धी जाँच गरिएको र सुगरको निःशुल्क ल्याब परिक्षण गरिएको थियो ।

शिविरमा २ सय ४० जना नागरिकले स्वास्थ्य परीक्षण गरिएको सहकारीका अध्यक्ष रेशम प्रसाद बस्तोलाले बताए । उनले हस्पिटलमा संस्थाका शेयर सदस्यहरु उपचार गर्न जानु पर्ने भएमा विशेष छुटको व्यवस्था रहेको र आगामी दिनमा अन्य अस्पतालमा समेत समन्वय गरि आफ्ना शेयर सदस्यलाई स्वास्थ्य सम्वन्धी थप सेवा सुविधाको अवसर मिलाईने बताए ।

शिविरमा समाजसेवी मोहन कुमार बरालले सुगर जाँचको किट खरिद गरि सहयोग गरेका थिए भने चन्द्रमोद साहले भोजनको व्यवस्थापन र चिकित्सक शंकर महतोले पिउने पानी व्यवस्थापन तथा औषधीमा विशेष छुट दिई सहयोग गरेका थिए । शिविरमा शुभ स्वस्तिक हस्पिटलका निर्देशक दिपक कार्कीको समेत उपस्थित रहेको थियो ।