बर्दिवास : फोहोर बोकेका गाडी कार्यालय परिसरमा

महोत्तरी, जेठ २५ गते ।

शुक्रवार दिनभरी फोहोर वोकेका तीन वटा गाडीहरु बर्दिवास नगर कार्यापालिकाको कार्यालय परिसरमा  थिए ।  परिसरभित्रै रहेका गाडीबाट आएको दुर्गन्धले सेवाग्राहीहरु मुख छोपीरहेको थिए भने भरिभराउ फोहोरका गाडीहरुले कौतहुलता जगाईरहेको थियो ।

नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि फोहोर व्यवस्थापन हुन नसकेपछी स्थानियहरुले फोहोरका गाडीलाई नियन्त्रणमा लिएर  कार्यालय परिसरमा राखेको दृश्य हो यो ।

सागरनाथ वन परियोजनाको वन क्षेत्रमा नगरले अघोषित डम्पिङ्ग साईड बनाएपछि अहिले स्थानियहरु आन्दोलित भएका छन् । नगर क्षेत्रबाट उठाएको फोहोर वन क्षेत्रमा डम्पिङ्ग साइड बनाउँदा वन्यजन्तु मृत भेटिएका छन् भने चरनमा जाने पशुचौपाया समेत मरेको स्थानियहरुको गुनासो छ  ।

यही समस्यालाई लिएर स्थानिय युवाहरुले ४ दिनभित्र सावधान निकाल्ने सर्तमा गाडीहरु परिसरबाट हटाएका छन् । उनिहरुले निर्धारित मितिमा व्यवस्थापन हुन नसके डम्पिङ्ग साइड कार्यापालिका परिसरमा नै बनाउने  चेतावनी दिएका छन् ।

स्थानिय युवाहरु विजय पोखरेल, अशोक महतो, नारायण अधिकारी, सुरेन्द्र साह लगायतका युवाहरुले ७ दिने समय दिएर ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा वन क्षेत्रमा फ्याकेको फोहोरको दुर्गन्ध र खानाले वन्यजन्तु र मानिसहरुमा समेत गम्भीर असर परिरहेकोप्रती ध्यानाकर्षण जनाईएको छ ।

यता सम्झौताअनुसार नगरले डम्पिङ्ग साइडको व्यवस्थापन नगरेपछी फोहोर वन क्षेत्रमा नै  फ्याक्न बाध्य भएको ठेक्केदार कम्पनीले जिकिर गरेको छ ।

सम्झौतामा नगरबाट निस्कने फोहोरको लागि रिसाईकलिङ्ग गर्न भौतिक पुर्वाधार निर्माण गर्ने सर्त थियो तर सम्झौता भएको ४ बर्ष वितिसक्दा पनि संरचना वन्न नसकेपछि वन क्षेत्रमा फोहोर फ्याक्न वाध्य भएको ठेक्केदार कम्पनी हिटा हेभी मेसनरी एण्ड रिसाइकल प्रालीले जनाएको छ ।

यसका संचालक रिन्चेन साङपो शेर्पा नगरसगँ भएको प्रतिवद्वतामा आफुहरु अडिग भएको र नगरले पनि इमान्दारिता देखाउनुपर्ने बताउछँन् । तर नगरले भने ठेक्केदार कम्पनीले नै इमान्दारिता नदेखाएको र सम्झौता नविकरणमा पुनः विचार गरेर भएपनि सावधान निकाल्ने दावी गरेको छ ।

नगर प्रबक्ता विजय महतोले अघिल्लो स्थानिय सरकारबाट नै  सम्झौता गलत भएको जिकिर गरे । ‘अघिल्लो स्थानिय सरकारले सम्झौता गर्दा २० बर्षको गरिएको रहेछ’, उनले भने, ‘काम भने जसरी अगाडि बढन सकेको छैन ।’

नेपालको संविधान धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा वाच्न र वातावरणिय प्रदुषण वा ह्रासवाट हुने क्षती बापत पिडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्यत गरेको छ ।

तर वन क्षेत्रमा फ्याकेको दुर्गन्धका कारण रोग समेत लागेको स्थानियहरुले गुनासो गरेतापनी नगरबाट यस्को सुनुवाई हुन सकेको छैन भने वन्यजन्तु अधिकारको समेत गम्भीर उल्लंघन भएको छ ।

संविधानले फोहोरमैला संकलन, प्रशोधन र व्यवस्थापनको लागि आवश्यक पुर्वाधारहरुको निर्माण र संचालनको जिम्मेवारी स्थानिय तहलाई दिएको छ । 

स्थानिय सरकार संचालन ऐन २०७४ ले समेत  स्थानियस्तरको सरसफाई व्यवस्थापनको जिम्मेवारी स्थानिय तहको हुने स्पष्ट व्यवस्था गरेको छ तर स्थानिय सरकारले कार्यक्षेत्र र अधिकार नबुझ्दा नगरभित्रको फोहोर ठूलो समस्याकोरुपमा सिर्जना भएको छ ।