अमेजनका माछा नेपालका नदीमा

नवराज कट्टेल

विराटनगर, जेठ २९ गते ।

मोरङको बेलबारी र धनपालथानमा माछाको गैरदेशीय प्रजाति पत्ता लागेको छ । दक्षिण अमेरिकाको अमेजन नदीको उक्त माछा नेपालमा पाइएको हो । पूर्वी र दक्षिण एसियाली देशहरूमा केही वर्षयता यसको व्याप्ति बढी छ ।

‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेको यो माछा नेपालमा पहिलो पटक मोरङको बेलबारीमा चार वर्षअघि देखा परेको थियो । नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पहिल्याउन थाल्नुभएको थियो ।

उहाँहरूसँगै दुई जना चिनियाँ अनुसन्धानकर्ता जिनक्वान याङ र चेनहोङ लीको सहयोगमा अति मिचाहा स्वभाव भएको यो माछा नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि भएको हो । यो माछाको बासस्थान, शारीरिक र आनुवांशिक बनोट तथा आनीबानीको अध्ययन भएको थियो ।

सोही अध्ययनबाट नेपालमा पहिलो पटक भेटिएको भन्ने कुरा पुष्टि गर्दै उनै अनुसन्धानकर्ताहरूद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अङ्कमा छापिएको छ । स्तरीय मानिएको (क्यु टु) उक्त विज्ञान पत्रिकामा उल्लेख भए अनुसार लोहन्द्रा नदीबाट यस माछाका ४३ वटा नमुना सङ्कलन गरिएको थियो । पूर्वी नेपालका तमोरलगायत प्रायः स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकोमा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यही जातको अर्को प्रजाति भने दमकतिरका नदीमा भेटिएको छ ।

हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमुना सङ्कलन गरिएका थिए । अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्तामध्येका एक जसहाङ लिम्बूले भन्नुभयो, “यसमा हामीले दुई वटा बाटो अनुमान गरेका छौँ । कि चाहिँ कसैको एक्योरियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो कि भारतबाट नदीमा खेल्दै यता आयो ।”

जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फुल र भुरा खाइदिने गरेको पाइएको लिम्बूको भनाइ छ । जसका कारण हाम्रा रैथाने माछा नासिने सम्भावना हुन्छ । यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।

“यो पहिला लजालु हुन्छ, स्थिर बसिराख्छ तर मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई त खाइदिने गर्छ ।” अनुसन्धानकर्ता लिम्बूले भन्नुभयो, “मोरङको लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ ।”

अनुसन्धानकर्ताहरूको टोली सन् २०१९ देखि यसको खोजीमा लाग्दा यो लोहन्द्रा खोलामा यो स्थापित भइसकेको र सङ्ख्या निरन्तर बढिरहेको पाइएको थियो । अब अरू नदी तथा माछा पालन गरिएका पोखरीमा विस्तार हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

“व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठुलो क्षति हुन्छ,” यो अमेरिकी माछालाई खासमा एक्वारियममा राखी सुन्दरता हेरी आनन्द लिने हो तर खानमा यो अप्रिय प्रजाति हो । लिम्बूले भन्नुभयो, “यो माछामा खास स्वाद नभएकाले मन पराएर मानिसले खाँदैनन् ।”

यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन् । उनीहरूले लेखमा लेखेका छन्, “यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ ।” अनियन्त्रितभई गएमा माछा मारी जीवन चलाउनेको जीवनयापन नै सङ्कटमा पर्ने, देशले ठुलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।

एक तथ्याङ्क अनुसार नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित जम्मा २६० प्रजातिका माछा पाइन्छन् । जसमध्ये १८ प्रजाति गैरदेशीय छन् भने १७ प्रजाति चाहिँ नेपालबाहेक अन्त पाइँदैनन् ।