विजय कुमार सिंह
ढल्केवर, असार १८ गते ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुर डुबानमा परेको छ । सोमवार बेलुकादेखि मंगलवारबिहानसम्म परेको अबिरल बर्षाले प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको हो ।
स्टोर शाखा डुबानमा परेपछि औषधिहरु अस्पताल कम्पाउण्डमा बगिरहेको छ । अस्पतालका अन्य शाखाहरु नयाँ संरचनामा सारेपनि स्टोर शाखा पुरानै भवनमा रहेकोले डुबानमा परेको अस्पतालका एक कर्मचारीले बताए ।
प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक रामनरेश पण्डितले अस्पताल डुबानमा परेको विषयमा अनभिज्ञता व्यक्त गरे । ‘डुबानमा परेको जानकारी मलाई छैन । पानी जम्ने ठाउँ नै छैन । कसरी डुबानमा पर्छ ?,’ अनभिज्ञता देखाउँदै निर्देशक पडितले द पब्लिक टुडेसँग भने ‘डुबानमै परेको हो भने एकचोटी स्टोर शाखाका इन्चार्जसँग बुझ्नुस् । भैरवजी हुनुहुन्छ त्यहाँ ।’
यता अस्पताल स्टोर शाखाका इन्चार्ज भैरव राउत स्टोर पुरानै जीर्ण भवनमा रहेकोले डुबानमा परेको बताउँछन् । पानीमा बगेको औषधिहरु अहिले संकलन गरिरहेको उनले बताए ।
‘पानीमा बगिरहेको औषधिहरु कामै नलाग्ने भन्ने खालका होइनन् । सलाईन गर्ने पानीका बोत्तलहरु (एनएस, आरएस) छ । ३–४ कार्टुन थियो । हामीले अहिले जम्मा गरिरहेका छौं । त्यो सबै काम लाग्छ,’ इन्चार्ज राउतले भने ‘कागजातहरु ¥याकमा राखेका थियौं । त्यसको अवस्था अहिले हेर्नुपर्छ । स्टोरका अरु औषधिहरु दोस्रो तल्लामा राखेका छौं । त्यो सबै सुरक्षित छ ।’ भवनलाई व्यवस्थित नगरेसम्म डुबानको स्थिती सामना गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
अहिले जनकपुरधामका अधिकांस स्थान जलमग्न छ ।