सनस्क्रिन किन लगाउने ?

 

डा. रुपक विक घिमिरे
छाला तथा यौनरोग विशेषज्ञ

छालाको सुरक्षाका लागि सनस्क्रिन लगाउनु आवश्यक छ भन्ने कुरा हामीले सबैले सुनेका छौं । तर लगाउनैपर्छ भन्नुको पछाडिको कारण भने कतिपयलाई थाहा नहुन सक्छ ।

हाम्रो छालाको काम भनेको मानिसको हड्डी ढाकेर सुन्दर देखाउने मात्र होइन, हानिकारक परावैजनी यूभीए र यूभीबी किरणबाट बचाउनु पनि हो ।

यी परावैजनी किरण सूर्यको प्रकाशबाट आउँछ । सूर्यको प्रकाशमा नाङ्गो संवेदनशील छाला पर्दा त्यसमा हुने हानिकारक परावैजनी किरणहरूले छालालाई असर गर्छ । सो असर रोक्ने काम सनस्क्रिनको प्रयोगले गर्छ ।

के कस्तो असरबाट सनस्क्रिनले जोगाउँछ ?

छाला डढ्न दिंदैन

घामको प्रत्यक्ष किरण नाङ्गो छालामा पर्दा डढ्न सक्छ । घर बाहिर केही घण्टासम्म दिनहुँ काम गर्दा वा डुल्दा छालामा क्षति पुग्न सक्छ । छालामा रहेको तत्वको काममा बाधा पुग्छ । जसले गर्दा उमेर अगावै छाला चाउरी पर्ने समस्या ल्याउँछ ।

परावैजनी किरणले छालाको सतहमुनि रहेको डीएनएमा क्षति पुर्‍याई छालाको रुपमा परिवर्तन स्वरूप छालाको चाउरी पर्छ । डीएनए क्षति भएमा मेलेनोमा सहित छालाका समस्या एक पछि अर्को गरी देखा पर्छ । मेलेनो छालाको बाहिरी तहमा गहिरो रंग दिने तत्व हो । जसले छालालाई सामान्य रंग दिन्छ ।

छालामुनि रहेको तहमा हुने हानिबाट बचाउन मेलेनोलो मेलेनिनको उत्पादन बढी गर्छ । मेलानिनले घामको विकिरणलाई अवशोषित गर्ने काम गर्छ । मेलानिन बढी भएमा छालामा क्षति हुन पाउँदैन ।

तर सनस्क्रिन लगाएको छैन भने मेलेनिनको उत्पादनमा पनि कमी आउँछ । जसकारण छाला रातो हुने वा डढेको दाग जस्तो देखिन्छ । त्यसैले यसबाट बच्न सनस्क्रिन लगाउनैपर्छ ।

छाला क्यान्सरको सम्भावित जोखिम कम गर्न

दैनिक सनस्क्रिन लगाएमा छाला क्यान्सरबाट बच्न सकिन्छ । अमेरिकामा यो क्यान्सर पाँच जनामा एक जनामा देख्ने गरेको तथ्याङ्कले देखाउँछ ।

नेपालमा अमेरिकाकै जस्तो जोखिम नरहे पनि केही प्रतिशतमा क्यान्सर गराउन सक्छ । त्यसकारण घाममा रहँदा दुई घण्टाको अन्तरमा सनस्क्रिन लगाउनैपर्छ ।

छालाको रङ परिवर्तन हुन नदिन

सनस्क्रिन नलाउनेको अनुहारको छालामा खैरा कडा दागहरू देखिने जोखिम लगाउनेको तुलनामा अत्यधिक बढी हुन्छ । जुन अनुहारको टाउको, हात र काँधमा बढी देखिन्छ । यो दाग देखिन नदिन सनस्क्रिन जरुरी छ ।

अनुहार सुन्निन नदिन

नाङ्गो छाला हानिकारक विकिरणमा पर्दा छाला पोल्ने र सुन्निने सम्भावना हुन्छ । यो रोक्न र यस्तो समस्या हुन नदिन सनस्क्रिन लगाउने र आँखा छोप्ने खालका सनस्क्रिन लगाउनुपर्छ । यो समस्या भएमा जिंक र टिटानियम डाइअक्साइड भएको सनस्क्रिन राख्नुपर्छ ।

सनस्क्रिन लगाउने र नलगाउनेबीच भिन्नता

तुलनात्मक रुपमा हेर्ने हो भने पहिलेको ६० वर्षको मानिस र अहिले सनस्क्रिन लगाएका ६० वर्षको मानिसको अनुहारको स्वरूप नै फरक छ ।

सनस्क्रिन नलाउने पहिलेका मानिस ५५ देखि ६० वर्षमा वृद्ध देखिन्थे । अहिले छालाको स्याहार गर्ने र सनस्क्रिन लगाउनेहरु ६० वर्षमा कम उमेरको देखिन्छ ।

सनस्क्रिनमा भौतिकमा जिंक अक्साइड र टिटानियम डाइअक्साइड जस्ता तत्व हुन्छन् । जसले घामबाट आएका विकिरणलाई प्रतिविम्बित गरी छालाको सतहबाट छिर्न दिंदैन । यसले छालामा दाग धब्बालाई कम गर्ने र छाला कसिलो पार्ने काम पनि गर्छ ।

कस्तो सनस्क्रिनको छनोट गर्ने ?

सनस्क्रिन कस्तो लगाउने भन्ने तय व्यक्तिको छाला अनुसार गर्नुपर्छ । छाला जुनसुकै होस् सनस्क्रिन छनोट गर्दा जहिले पनि त्यसमा एसपीएफ भएको हेर्नुपर्छ । एसपीएफको पूरा अर्थ हो, सन प्रोटेक्सन फ्याक्टर । यूभीबी र यूभी विकिरणमा छाला डढाउने, छालामा क्यान्सर गराउने र अनुहार बिगार्ने तत्व हुन्छ ।

यस्तोमा एसपीएफको काम भनेको छालालाई यी तत्वबाट जोगाउनु हो । एसपीएफ मुख्य १५, ३० र ५० गरी तीन किसिमको हुन्छ । एसपीएफ १५ ले ९३ प्रतिशत, एसपीएफ ३० ले ९७ प्रतिशत र एसपीएफ ५० ले ९८ प्रतिशत यूबीबी किरणलाई रोक्छ । यी तीन खासै भिन्नता नभए पनि बढी घाममा बस्नुपर्ने भएमा ९७ प्रतिशत प्रभावकारिताका लागि एसपीएफ ५० उपयुक्त हुन्छ ।

बजारमा एसपीएफ ५० भन्दा माथिको सनस्क्रिन भनेर गलत प्रचार गरी सनस्क्रिन बेचिएको छ । एसपीएफ ५० भन्दा माथिको सनस्क्रिन वैज्ञानिक रुपले पुष्टि भएको छैन । सनस्क्रिनको प्रभावकारी नतिजाका लागि छालाको परीक्षण गराई चिकित्सकको परामर्श बमोजिम सनस्क्रिन प्रयोग गर्नु उचित हुन्छ ।

कसरी लगाउने ?

सनस्क्रिन लगाउनुअघि अनुहार अनुकूल मोइस्चराइजर लगाउनुपर्छ । मोइस्चराइजर लगाइसकेपछि सनस्क्रिन लगाउनुपर्छ । सनस्क्रिन बिहान नौ बजे र मध्यान्ह १२ बजे गरी दुईपटक लगाउनुपर्छ । किनभने घामको असर बिहान १० देखि साँझ २ बजेसम्म बढी हुन्छ । घाम नलाग्दा वा घाममा नबस्दा पनि सनस्क्रिन लगाउनुपर्छ । किनकि घाम नलागे पनि सूर्यको हानिकारक विकिरण रहिरहन्छ ।

पौडी खेल्न र ट्रेकिङ जाँदा दुई घण्टाको फरकमा सनस्क्रिन लगाइरहनुपर्छ । सनस्क्रिन लगाउँदा एक पटकमा दुई मिलिग्रामको मात्रा लिएर अनुहारको सबै भागमा थोरै थोरै राखेर लगाउनुपर्छ ।

कतिपयमा पटक-पटक लगाउँदा मुख धोएर लगाउनुपर्छ कि भन्ने दुविधा रहन्छ । विशेषगरी महिलाले सनस्क्रिनपछि फाउन्डेसन लगाएका हुन्छन् । यस्तोमा धुलोधुवाँमा जानुपरेको छैन भने अनुहार नपखाली त्यसमाथि पुनः लगाउन सकिन्छ । सम्भव भए अनुहार धोएर लगाउनु उपयुक्त हुन्छ ।

Scroll to Top