खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती

 

रौतहट, असोज १४ गते ।

अबिरल वर्षासँगै बागमती र बकैया नदीमा आएको बाढीको पानीले गौर बजार क्षेत्र जलमग्न भएर बन्द भएको जिल्ला भन्सार कार्यालय सोमवार दिउँसो देखि सञ्चालनमा आएको छ ।

आईतवार बिहानै देखि जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयमा पानी जमेर सम्पूर्ण सेवा अवरुद्ध भएको थियो। भन्सार एरियामा भने ४–५ फिट पानी जमेको थियो भने भन्सार छेउ सशस्त्र प्रहरी बल गुल्मभित्र ३–४ फिट पानी जमेको थियो । आईतवार दिनभरि सीमावर्ती बैरगनिया आउने जाने सैयौं मानिसलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।

तर सोमवार बिहानै देखि आईतवारको तुलनामा पानी केही कम भएपछि तेस्रो दिन भन्सारको ढाठ खोलिएको सशस्त्र प्रहरी भन्सार गुल्मका प्रमुख डिएसपी कृष्ण खतिवडाले बताए । तर सोमवार साँझसम्म पनि भन्सार एरियादेखि क्रान्तिद्वार सम्म २३ फिट पानी जमेको कारण वारिपारी पैदल आउनेजाने लाई ठुलो सास्ती भईरहेको छ ।

भारतीय बजार बैरगनियाबाट गौरसम्म टाँगा सञ्चालन भएर केही राहत भएपनि पैदल यात्रुलाई कठिनाई रहेको छ । भारतीय सीमा सुरक्षा बल ऐसऐसविले आवश्यकता अनुसार भारतीय सीमामा रहेको नदीको साईफन नखोलेको कारण गौर बजार आसपास जमेको पानीले स्थानीयलाई सास्ती खेप्नु परेको बताइएको छ ।

Scroll to Top