१५ विद्यालयलाई पछि पार्दै चिल्ड्रेन स्कुलले उचाल्यो हाजरी जवाफको उपाधि

 

द पब्लिक टुडे
ढल्केवर, असोज १४ गते ।

धनुषाको महेन्द्रनगरस्थित एक रेडियोले आयोजना गरेको नगरस्तरीय हाजरी जवाफ प्रतियोगिताको उपाधि ढल्केवरका चिल्ड्रेन्स गार्डेन सेकेन्डरी बोर्डिङ स्कुलले उचालेको छ । महेन्द्रनगरस्थित रहेको दुधमति एफएमद्वारा आयोजित उक्त हाजरी जवाफ प्रतियोगितामा १५ विद्यालयलाई पछि पार्दै चिल्ड्रेन्स स्कुलले उपाधि चुमेको हो ।

गत भाद्र १८ गतेदेखि सुरु भएको प्रतियोगितामा क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका १६ वटा विद्यालयले भाग लिएका थिए । रेडियोको प्रत्यक्ष प्रसारणमै शनिवार बाहेक प्रत्येकदिन एक घण्टा प्रतियोगिता गराइएको थियो ।

आईतवार चिल्ड्रेन्स गार्डेन सेकेन्डरी बोर्डिङ स्कुल ढल्केवर र क्षीरेश्वर जनता माध्यमिक विद्यालय महेन्द्रनगरबीच फाइनल प्रतियोगिता भएको थियो । जसमा चिल्ड्रेन्स गार्डेन सेकेन्डरी बोर्डिङ स्कुल ढल्केवर १० अंक ल्याएर विजयी भए । पाँच अंक ल्याएका क्षीरेश्वर जनता माध्यमिक विद्यालय महेन्द्रनगर उपविजेतामै सिमित भए ।

बिजेत र उपविजेता विद्यालयलाई सोमवार शिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको छ । उनीहरुलाई क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुकदेव यादव र उपमेयर रचना श्रेष्ठ माथेमाले पुरस्कार हस्तान्तरण गरेका हुन् । माध्यमिक विद्यालयस्तरीय भएको उक्त प्रतियोगिताका विजेता बनेका चिल्ड्रेन्स गार्डेन सेकेन्डरी बोर्डिङ स्कुलबाट सोनुप्रसाद सिंह र पुजा कुमारी मण्डलले प्रतिनिधित्व गरेका थिए ।

धनुषाको उत्तरी भेगमा शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका चिल्ड्रेन् स्कुलले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरु पनि उतकृष्ट स्थान ल्याउँदै आएका छन् ।

Scroll to Top