द पब्लिक टुडे
काठमाडौं, असोज १४ गते ।
नेकपा एमालेका मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतोको पहलमा बाढी र पहिरोबाट प्रभावित भएर अलपत्र परेका ५८ जना यात्रुको उद्धार गरिएको छ ।
दुईदिनको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको मंगलटारमा पूर्ण रुपले अवरुद्ध भएपछि बीचमै अलपत्र परेका यात्रुहरुको सोमवार प्रदेश सांसद महतोको पहलमा काभ्रेको कटुञ्जेबाट ५८ जना यात्रुको उद्धार गरिएको हो । उद्धार गरिएका ५८ जनामा प्रदेश सांसद महतो पनि छन् । राजमार्ग अवरुद्ध भएपछि उनी स्वयम अलपत्र परेका थिए ।
शुक्रवार काठमाडौंबाट गृहजिल्ला फर्किरहेका महतो रोशी गाउँपालिकाको मंगलटारमा बाटो बगाएपछि बीचमै अलपत्र परेका थिए । उनीसँगै सयौं यात्रु तथा सवारीसाधनहरु अलपत्र परे ।
‘पहिरो र बाढीले बाटो बगाएको कारण उक्त स्थानसम्म कुनै सवारीसाधन पुग्ने अवस्थासमेत थिएन । त्यसपछि विभिन्न कठिनाइ भोग्दै हामी समूहमै पैदल यात्रा गरेर काभ्रेको कटुञ्जेसम्म आईपुग्यौं,’ सांसद महतोको सचिवालयको फेसबुक पेजमा उल्लेख गरिएको छ ‘त्यहाँबाट कोही पाइला अघि सार्ने अवस्थामा थिएनन् ।’
महतोले काभ्रेका प्रहरी उपरीक्षक बसुन्धारा खड्कालाई तत्कालै फोन गरेर सबैको उद्धारका लागि आग्रह गरेको सचिवालयले गरेको पोस्टमा उल्लेख गरेको छ । प्रहरी उपरीक्षक खड्काले आफ्नो आग्रहबाट तत्कालै पहलकदमी लिएर हेलिकप्टरमार्फत आफूसहित ५८ जना यात्रुलाई काभ्रेको कटुञ्जे प्रहरी चौकीबाट सकुशल धुलिखेलसम्म पुर्याईदिएकोमा आभार प्रकट गरेका छन् ।
उद्धार गरिएका मध्ये १९ जना यात्रुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनले उपचाररत रहेका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।