बाँके, असोज १५ गते ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आएको छ । एक सय ३० घार मौरीपालन गर्नुभएकी उहाँले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताए ।
एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताए । उनी बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा चिनिनुहुन्छ । नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताए ।
उनले घरमा मह प्रशोधनका उपकरणसमेत राख्नुभएको छ । श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रुपमा सक्षम हुनुपर्ने धारणा राख्नुभयो । महिला आर्थिक रुपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उनले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
“स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन् । मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन”, नन्दकलाले भन्ने, “प्राकृतिक रुपमा परिवर्तन भइरहने ऋतुहरुले यसमा प्रत्यक्ष असर पार्दछ ।” उहाँले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाए । फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उहाँले जानकारी दिए ।
एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताए । जङ्गलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गााह्रो हुने उनको अनुभव छ ।
“समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ”, नन्दकलाले भन्ने, “नश्ल सुधारिएको रानीमौरीको मूल्य रु पाँच–छ लाखमा किन्नु पर्दछ । जुन सामान्य किसानलाई सजिलो छैन ।” जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उनले जानकारी दिए ।
एक सय ३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः रु छ सय, रु सात सय र रु आठ सयपर्ने जानकारी दिए । मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उनको अनुभव छ ।
सात वर्षअघि रु ४० हजार लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई सुरु गर्नुभएकी नन्दकलाले अहिले करिब रु २० लाखको मह बिक्री गर्ने गरेको बताए । सबै खर्च कटाएर वार्षिक रु १४ नाफा हुने गरेको उनले जानकारी दिए ।
महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले सुनाए । “काठमाडौँ, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ । हालसम्म कोहलपुर र नेपालगञ्जको माग पु¥याउन नै सकिएको छैन”, उनले भन्ने ।
नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको सङ्ख्या बढाउँदै जाने योजना रहेको बताए । स्थानीय सरकारले व्यवसायलाई विस्तार गर्न आर्थिक, प्राविधिक सहयोग गर्नुपर्ने भन्दै उनले आवश्यक सीप तथा तालिम पनि दिनुपर्नेमा जोड दिए ।